Notification

×

Iklan

Iklan

मुस्ताङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन शुरु

Saturday, March 6, 2021 | March 06, 2021 WIB Last Updated 2021-12-30T03:23:40Z

 बेनी

फागुन २२




हिमालपारिको जिल्ला मुस्ताङमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन शुरु भएको छ । नेपाल–चीनबीच सम्पन्न भएको पारवहन सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाअन्तर्गत अध्ययन शुरु भएको हो ।


मुस्ताङको  लोमान्थाङ गाउँपालिकामा अवस्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह बनाउन भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डिपिआर) गर्ने काम शुरु गरेको छ ।


नेपाल–चीनबीच दुई वर्षअघि हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार चीनका चार सामुद्रिक तथा तीन सुक्खा बन्दरगाहसम्म आवत जावत गर्ने मध्येको कोरोला नाकामा सुक्खा बन्दरगाह बन्न लागेको हो ।


बन्दरगाह बनाउन सम्भाव्यता अध्ययनका लागि पुगेका परामर्शदाता सितारा कन्सल्टेन्सीका निर्देशक टीका कोइरालाले भौगोलिक अवस्था, पूर्वाधार एवं व्यापार तथा ढुवानी संरचनाको खाका र लागत अनुमान गरी प्रतिवेदन बुझाउने बताएका छन् ।


भन्सारका नाममा कोरोला नाकाको दशगजा छाडेर प्राप्त एक हजार रोपनी जग्गा र १२ किलोमिटर तल नेचुङ गरी दुई ठाउँमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्ने कोइरालाको भनाइ थियो ।


कोरोला नाकामा चिनियाँ पक्षले दशगजा छाडेर आधुनिक सूचना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ, सुरक्षा प्रबन्धलगायत पूर्वाधार बनाइसकेको छ।


अन्तर्राष्ट्रिय नाकाका रूपमा यसलाई विकास गर्ने गरी बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्न लागिएको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताएका छन् ।


“मुस्ताङबासीको माग र गण्डकी प्रदेश सरकारको दबावले बन्दरगाहको सम्भाव्यता अध्ययन शुरु भएको छ। केही वर्षमै निर्माण भइसक्ने हाम्रो आशा छ”, तुलाचनले भने, “अब हाम्रो ध्यान बेनी–जोमसोम–कोरोला सडकको स्तरोन्नतिमा भइरहेको ढिलासुस्ती हटाउनेतर्फ रहेको छ ।” 


एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गत अहिले दुई लेनको सडक विस्तार, पुल निर्माण र कालोपत्रे गर्ने काम भइरहेको छ ।



×
Berita Terbaru Update