बेनी
फागुन २३
सर्वोच्च अदालतको आजको फैसलाले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पुरानै नामको अवस्थामा पुगेका छन् ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) बीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्ठमा (नेकपा) थपेको थियो ।
निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।
अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी (केन्द्र) बीचको सम्बन्ध औपचारिकतामा सीमित भएको छ ।
यी दुई दलले अब स्वतन्त्र पार्टीका रुपमा एकअर्काविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न तथा समीकरण गरेर अघि बढ्न पाउने भएका छन् । सरकार बनाउनकै लागि अध्यादेश ल्याउने झञ्झट पनि सर्वोच्चको फैसलाले अन्त्य गरिदिएको छ ।

