बेनी
फागुन २७
नेकपा (एमाले), म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीमा कसैलाई विभेद नगरिने बताएका छन् । सर्वोच्च अदालतको फैसला र एमाले म्याग्दीको आगामी पार्टी जीवनसम्बन्धमा कालञ्जर अनलाईनसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले अदालतको पछिल्लो फैसलाको ‘स्पिरिट’मा रहेर सबैलाई अवसर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रतिनिधि सभा विघटन र नेकपाको विवादका बारेमा सर्वोच्च अदालतले गरेका फैसलालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै नेता श्रेष्ठले आफू अनुकूलको निर्णयमा विजयउत्सव मनाउने र प्रतिकूल जस्तो लाग्दा आलोचना गर्न नहुने विचार पनि व्यक्त गरेका छन् ।
“अदालतले कसैको स्वार्थलाई सम्बोधन गर्ने भन्दा पनि मौजुदा ऐन, कानुनमा टेकेर फैसला गर्ने हो,” अध्यक्ष श्रेष्ठले भने, “सर्वोच्च अदालतका पछिल्ला दुई ओटा फैसलालाई त्यसैरुपमै आत्मसाथ गर्न आवश्यक छ ।”
जनताको चाहना र देशको आवश्यकता अनुसार एमाले र माओवादी केन्द्रका बीचमा एकता भए पनि न्यूनतम शर्त पालना नभएका कारण दिगो बन्न नसकेको श्रेष्ठको भनाइ छ । नेकपा म्याग्दीको सचिव र एमाले म्याग्दीको अध्यक्षका रुपमा काम गर्दा खासै फरक महशुस नभएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, “तर बाध्यताले स्विकारेको पदमा बसेर काम गर्नुपर्दा मनभित्र कताकता हीनताबोध भने हुने रैछ ।”
अध्यक्ष श्रेष्ठसँगको संवाद केही समयपछि प्रकाशन गरिनेछ ।