बेनी
फागुन २७
यस वर्षको महाशिवरात्रि पर्वमा म्याग्दीको गलेश्वरधाममा १५ हजारभन्दा धेरै श्रद्धालुले दर्शन र पूजा गरेका छन् । कोरोना महामारीका कारण साउने सोमबार, बालाचतुर्दशी लगायतका पर्वमा शून्य जस्तै देखिएको गलेश्वरधाममा आज भने निकै चहलपहल बढेको थियो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कायमै रहे पनि महाशिवरात्री पर्वका कारण शिवालय लगायतका देवस्थलमा श्रद्धालुको भीड लागेको हो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले शिवरात्रिको दिन आज बिहानदेखि बेलुकासम्म म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, रुपन्देही, स्याङ्जा, काठमाडौं, तनहुँ, झापा, सुनसरी जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आएको जानकारी दिए । “सिसि क्यामेरामा गरिएको निगरानी, सुरक्षाकर्मीको निरीक्षण र अवलोकनपछि १५ हजारभन्दा धेरै भक्तजनले दर्शन र पूजा गरेको निष्कर्षमा हामी पुगेका छौं,” अध्यक्ष कार्कीले भने ।
कोरोना भाइरसको संक्रमणका जोखिमले करिब एक वर्षसम्म मन्दिरमा सहज पूजाअर्चना गर्न नपाएको भक्तजनहरुको बिहानैदेखि भीड लागेको थियो । दर्शन र पूजा गर्नका लागि श्रद्धालु तथा भक्तजनहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । मन्दिर दर्शन गर्न भक्तजनहरुको व्यवस्थापन तथा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखालगायत जिल्ला प्रहरी कार्यालयबाट खटिएका स्वयंसेवकसहित सामाजिक संघसंस्थाले स्वयंसेवा गरेका थिए।
दर्शन र पूजनका लागि विद्यालय उमेरका बालबालिकादेखि पाका उमेरका वृद्धवृद्धासम्म पंक्तिबद्ध उभिएका थिए । अघिल्लो वर्षको तुलनामा छिटै नै दर्शन र पूजाको व्यवस्था मिलाइएको क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर परिसरमा प्रवेश गर्न र बाहिर निस्किनका लागि छुट्टाछुट्टै बाटोका व्यवस्था गरिएका कारण पनि श्रद्धालुको आवागमनमा सहज भएको थियो ।
गलेश्वर मन्दिरमा खासगरी साउने सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष पुजाआजा हुँदै आइरहेको छ भने मेलासमेत लाग्ने गर्दछ ।
हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् । शिवरात्री पर्वमा शिवालय मन्दिर गएर दर्शन र पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासले आफू गलेश्वर पूजा गर्न आएको कल्पना ढुङ्गानाले बताइन् ।
महाशिवरात्रीमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तनसहितको शिवपुजा गर्दछन् ।
पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वर मन्दिरभित्र शिव लगायतका विभिन्न देवीदेवताहरुको मूर्तिहरु राखिएको छ ।
मन्दिरको मुख्य प्रवेशद्वारमा रहेका प्रहरीले भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए भने भीडभाड र मुख्य स्थानमा प्रहरीले निगरानी गरेको थियो । गलेश्वरधाममा भैरहेका क्रियाकलापलाई कोषले सिसि क्यामेरामार्फत निगरानीको व्यवस्था मिलाएको थियो । त्यसैगरी कालीगण्डकी नदी स्नान गर्दा कुनै समस्या आएमा नदीबाट उद्धार गर्न ‘लाइफ ज्याकेट’, ‘सेफ्टी हेल्मेट’, स्वास्थ्य परीक्षण तथा पञथमिक उपचार एवं औषधिको व्यवस्था समेत गरिएको थियो ।
मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरुले भजनकिर्तनका साथै नौमती पञ्चेबाजा समेत बजाएका थिए ।
यसैबीच म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि बिहीबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । शिवरात्रीको गलेश्वर शिवालयभन्दा नजिकै रहेको बेनी शिवालयमा रहेको १०८ शिवलिङ्गमा पुजा गर्ने भक्तजनरुको घुइँचो लागेको जनाइएको छ ।