Notification

×

Iklan

Iklan

मगर विद्यार्थी संघको ११औं राष्ट्रिय भेला बेनीमा शुरु

Thursday, March 11, 2021 | March 11, 2021 WIB Last Updated 2021-12-30T03:23:33Z

 बेनी

फागुन २७




नेपाल मगर विद्यार्थी संघको ११औं राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीमा शुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा बिहीबारदेखि भेला शुरु गरिएको हो । 




२०५१ फागुन २७ गते स्थापना भएको संस्थाको रजत जयन्तीको अवसरमा आयोजित भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले मगर समुदायका युवायुवतीहरुले वैदेशिक रोजगारीको मानसिकता त्याग्न जरुरी रहेको विचार व्यक्त गरेकी छिन् । “सधैं विदेश बसेर मात्र पुग्दैन । यसका लागि मगर समुदायले विशेष ध्यान दिन आवश्यक छ,” मन्त्री पुनले भनिन्, “अब उच्च शिक्षा हासिल गरी स्वदेशमै पेशा, व्यवसाय गर्ने सोचको विकास हुन जरुरी भैसकेको छ ।” 




नेपालको विद्यमान ऐन, कानुनले आदिवासी, जनजातिलगायतलाई आरक्षणको व्यवस्था गरेको र उद्यमशीलताको विकासका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउँदै मन्त्री पुनले विदेश नगए केही हुँदैन भन्ने पुरानो सोच नत्यागेसम्म देश विकास नहुने निष्कर्ष सुनाएकी थिइन् ।


गण्डकी प्रदेश सरकारले भाषा र संस्कृतिको अध्ययन र संरक्षण, पर्यटन प्रवर्द्धनका लागि ‘कल्चर भिलेज’को परिकल्पना गरी जग्गा खोजी शुरु गरेको जानकारी गराउँदै मन्त्री पुनले मातृ भाषामा पढाउने विद्यालयलाई थप अनुदान र स्थानीय तहमा मातृभाषाको पाठ्यक्रम तथा पुस्तक बनाउन सहयोग गर्ने कार्यक्रम रहेको बताइन् । 




सोही समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय सचिव तथा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले आसन्न जनगणनाका क्रममा मगर समुदायको वास्तविक तथ्याङ्क थाहा पाउन मगर समुदायले आफ्नै थर उल्लेख गर्न अनुरोध गरिन् । म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले संघीयताको भावनाअनुसार संरक्षित र विशेष क्षेत्रका रुपमा रहेका स्थानीय तहलाई संघ र प्रदेश सरकारले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए ।




कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर केसी, मगर संघका प्रदेश सचिव राजकुमार थापा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, अधिवक्ता गौबहादुर आलेमगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाईजा, मगर विद्यार्थी संघका पूर्व केन्द्रीय प्रचारप्रसार सचिव खम थापामगर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, मगर विद्यार्थी संघ म्याग्दीका उपाध्यक्ष दर्पण रोकाले मन्तव्य राखेका थिए । 




मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णु थापामगरले अध्यक्षता र महासचिव प्रेम रोकामगरले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले स्वागत गरेका थिए । 


औपचारिक कार्यक्रम शुरु हुनुपूर्व देशभरबाट आएका मगर समुदायका पञ्तिनिधिहरुले जातीय भेषभूषा र झाँकीसहितको रञयाली आयोजना गरेका थिए । 


आयोजकका अनुसार विभिन्न समसामयिक विषयमाथि बन्द सत्रमा गम्भीर छलफल गर्ने कार्यक्रम छ । 


भेलामा देशभरबाट ४ सयभन्दा धेरै प्रतिनिधिको सहभागिता छ । 



×
Berita Terbaru Update