बेनी
वैशाख १७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीका कारण देशको स्वास्थ्य प्रणाली असफल हुन सक्ने चेतावनी दिँदै मापदण्ड पालना गर्न सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ । आज एक अपील जारी गर्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
अनुरोधमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’
मन्त्रालयका अनुसार यसअघि १४ जिल्ला कोभिड १९ को संक्रमणका कारण अत्यधिक प्रभावित रहेकोमा शुक्रबार (आज)को अपीलमा त्यो संख्या बढेर २२ पुगेको उल्लेख छ ।
कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ।
परिस्थिति सङ्कटपूर्ण हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले सर्वसाधारणलाई जनस्वाथ्यका मापदण्डहरु पालन गर्न आग्रह गरेको छ । मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुन पानीले हात धुने लगायतका विषयलाई अपीलमा प्राथमिकता दिइएको छ ।
मन्त्रालयले देशभित्र या बाहिरको आवतजावत पनि नगर्न अपील गरेको छ । ‘कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन’ पनि अपीलमा भनिएको छ ।
देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेकाले संवेदनशील बन्न समेत अपीलमा भनिएको छ ।