बेनी
चैत १९
जिल्ला जनगणना कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा जिल्लास्तरीय जनगणना सचेतना गोष्ठी सम्पन्न भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित आगामी वर्ष हुन लागेको बाह्रौं राष्ट्रिय जनगणना–२०७८ को पूर्वसन्ध्याको अवसरमा जिल्लास्थित सरोकारवालाहरुबीच गोष्ठी गरिएको हो ।
गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जनगणनाको कार्यक्रमलाई सफल पार्नु सबैको दायित्व भएको बताए । उनले प्रतिवेदन प्रस्तुति, टिप्पणी, जिज्ञासा र त्यसको उत्तरले जनगणनाको महत्व मुखरित भएको भन्दै शिक्षा, स्वास्थ्य, जातजाति वा आर्थिक क्षेत्रको योजना निर्माण गर्नका लागि पनि जनगणनाबाट सही तथ्याङ्क आउनुपर्नेमा जोड दिएका थिए
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनगणना जस्तो महत्वपूर्ण कार्यक्रममा हेलचेक्र्याइँ गर्न नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट जनगणना कार्यलाई सफल बनाउन सहयोग गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले आगामी वैशाख २६ गतेदेखि जनगणनाको महत्वपूर्ण चरणमा प्रवेश गरिने बताउँदै त्यस अगाडिका सबै कार्यक्रम पूर्वतयारी भएको बताएका थिए । उनले जनगणनालाई बढी विश्वसनीय बनाउन विभागले आफ्नो तयारी गरिरहेको बताउँदै त्यसका लागि जनगणना कार्य सफल बनाउन सरोकारवाला पक्ष सचेत बन्नुपर्ने धारणा राखे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले राष्ट्रिय जनगणना–२०७८ को संक्षिप्त जानकारी तथा तयारी कार्य र जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले जनगणनामा व्यक्ति तथा घरको गणना विधि, अवधारणा तथा परिभाषा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख आकांक्षा रिजाल र मंगला गाउँपालिकाको शिक्षा संयोजक डेकबहादुुर बानियाँले टिप्पणाी गरेका थिए ।
जिल्ला स्तरीय जनगणना समितिका अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षता र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्वागत गरेको कार्यक्रमको सहायक जिल्ला जनगणना अधिकारी केशवबहादुर बुढाथोकीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शैक्षिक, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष एवं पत्रकारहरु, दलित, जनजाति, अपाङ्गता भएका लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना गरिएको थियो ।