बेनी
वैशाख ३१
आज वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् अक्षय तृतीया । जौको सातु र सर्बत खाएर यो पर्व मनाइँदै छ । दिनमा भगवान् विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा त्यसबाट अक्षय (कहिल्यै नाश नहुन्) फल मिल्ने धार्मिक विश्वास छ ।
गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो ।
उनकाअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुआत भएको हो । यही दिन भगवान परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तिको रूपमा पनि मनाइन्छ ।
यसै दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले आजका दिनमा गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयाका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन साइत नजुराएरै कुनै पनि शुभकार्य गर्न सकिन्छ ।
शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरिद, नयाँ सामान खरिद, सवारी साधन खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।