बेनी
जेठ २
सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा बिरामी पुर्याएर फर्किएको मङ्गला गाउँपालिकाको सवारी साधनमाथि तोडफोड भएको छ । शनिबार राति बेनीमा विरामी छाडेर बावियाचौरतिर फर्कंदै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जीप अन्दाजी पौने १२ बजेतिर मङ्गला–२, सिमलचौरमा तोडफोड भएको हो ।
जीप तोडफोड गर्ने दुई जना स्थानीय युवालाई नियन्त्रणमा लिएर थप सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जानकारी दिएउको छ । प्रहरीका अनुसार मदिरा सेवन गरेर गाडी तोडफोडमा संलग्न भएका सिमलचौरका ३५ वर्षीय रमेश बायिनाँ र २६ वर्षीय जीवन बानियाँलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार उनीहरुले जीप रोकेर आक्रमण गर्दा सवारी तोडफोड भएको छ भने जीपका चालक रुद्र गिरीलाई समेत कुटपिट गरेको पाईएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोका र चालक गिरीले अस्पतालमा विरामी पुर्याउने र भर्ना लगायतका काम गर्दा राति अबेर भएको र फर्किने क्रममा आक्रमणमा परेको बुझिएको छ ।
तोडफोडबाट जीपको अगाडि र छेउतिरका सीसा फुटेका छन् । गाउँपालिकाका पदाधिकारी र कर्मचारीले प्रयोग गर्दै आएको उक्त सवारी कोरोना महामारीको संक्रमण बढ्दै गएपछि बिरामीको ओसारपोसारका लागि उपयोग हुँदै आएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिइन् ।