बेनी
जेठ ५
म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले एक विज्ञप्ति जारी उक्त जानकारी गराएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले संक्रमित मध्ये ३६ जना पिसिआर विधिबाट र बाँकी ३६ जनाको एन्टिजिन परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
पिसिआर विधिबाट परीक्षण गर्दा थपिएका संक्रमितमध्ये बेनी नगरपालिकामा २२ जना, मङ्गला गाँउपालिकामा २ जना, रघुगङ्गा गाउँपालिकामा १ जना, धौलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकाका २ जना रहेका छन् ।
त्यसैगरी एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएकाहरुमा बेनी नगरपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना, अन्नपुर्ण गाउँपालिकाका १६ जना र रघुगंगामा गाउँपालिकाका १८ जना रहेका छन् ।
पछिल्लो अद्यावधिक तथ्याङ्कसँगै म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या १०६६ पुगेको पनि जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ( यसमध्ये पिसिआर विधिबाट परीक्षण गरिएका ८८३ जना र एन्टिजिन परीक्षण गर्दा पोजेटिभ पाइएका १८३ जना छन् ।
पछिल्लो २४ घण्टामा २९ जनाले कोरोना जितेका छन् । कार्यालयका अनुसार अहिले म्याग्दीमा कोरोनाका सकृय संक्रमितको संख्या ४५० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी सकृय संक्रमित भएका जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।
हिमाली जिल्ला र थोरै जनसंख्या भए पनि म्याग्दीमा संक्रमण दर अनपेक्षितरुपमा बढनको पछाडि जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु नै मुख्य कारण रहेको बेनी अस्पतालका डाक्टर जितेन्द् कँडेलले बताए ।
