बेनी
वैशाख ३०
![]() |
प्रतीकात्मक तस्वीर |
कोरोना भाइरसको महामारी (कोभिड–१९) को दोस्रो लहर बढ्दोक्रममा छ । अहिले अस्पतालमा बेड पाउन कठिन देखिँदा धेरै संक्रमितहरु घरमै बसेर आफन्तको सहयोगमा स्वास्थ्यको हेरचाह गरिरहेका छन् । अस्पताल पुगेकाले पनि बेड वा अक्सिजन नपाएर अकल्पनीय मृत्युवरण गरेका बेला घरमै बसेका संक्रमित र तिनका आफन्तको मन पनि नराम्रो गरी अतालिएको छ । यस्तो बेला उनीहरुलाई औषधिका साथै मनोसामाजिक परामर्शको पनि अतिआवश्यक पर्दछ ।
होम आइसोलेसनमा बसेका संक्रमितको मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या सम्वोधन गर्न हालै मनोसामाजिक सहयोग टोली गठन गरिएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) का प्राविधिक निर्देशक डा. पशुपति महतको नेतृत्वमा गठित टोलीले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई टेलिफोनको माध्यमबाट मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा दिनेछ ।
‘राज्यमा यस्तो स्वास्थ्य संकट आइरहँदा हामीले तत्कालका लागि मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा प्रदान गर्नका निम्ति मनोचिकित्सक, चिकित्सा मनोविद्, मनोविद एवं मनोसामाजिक परामर्शकर्तासहितको मनोसामाजिक सहयोग टोली तयार गरिएको हो’ मनोसामाजिक सहयोग टोलीका डा. महतले बताए ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले महामारीको समाचारले मानिसमा भयको वातावरण सिर्जना गरेको बताउँदै सोको निवारणका लागि बेलैमा सोच्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
डा. महतले समुदायस्तरमा रहेका १ सय १० जना सामुदायिक मनोसामाजिक कार्यकर्ता, १ सय ७५ भन्दा बढी मनोपरामर्शकर्ता/मामला व्यवस्थापक र संस्थाका ३४ जना प्राविधिक कर्मचारीमार्फत सेवा दिने बताएका छन् । सेवा लिन चाहनेले टोल फ्रि नं १६६००१८५०८० बाट हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मनोविद्/ मनोपरामर्शकर्ताबाट निशुल्क सेवा लिन सक्ने बताइएको छ ।
त्यस्तै वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायालाई ९८४१४१९९८० र सीएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतलाई ९८५१०९४८३१ मोबाइलमा पनि भेट्न सकिनेछ ।