बेनी
वैशाख १९
कोरोनाको दोस्रो लहरले बाँकी संसारजस्तै नेपाल पनि आक्रान्त छ । भाइरसको सङ्क्रमण दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको रिपोर्ट सार्वजनिक भएका छन् । थेग्नै नसकिने गरी कोरोना फैलिन सक्ने भन्दै सरकारले सचेत हुन अपील नै गरेको छ । शिक्षण संस्थाहरु बन्द छन् । अवस्था भयावह बन्दै गए निषेधाज्ञा जारी गर्ने परिस्थिति सन्निकट छ ।
तर, उत्तरी म्याग्दीको घोडेपानी र पुनहिल क्षेत्र पुग्ने जोकसैलाई लाग्छ, यहाँ सब ठीकठाक छ । वसन्त ऋतु उत्कर्षमा पुग्दै गर्दा यहाँका वनजङ्गल गुराँसमय बनिरहेका छन् । अन्नपूर्ण गाउँपालिका–६, घारमा पर्ने घोडेपानी क्षेत्रका पहाडहरु यतिबेला गुराँस फुलेर राताम्य भएका छन् ।
नेपालको राष्ट्रिय फूल गुराँस अहिले म्याग्दीका वनपाखामा ढकमक्क फुलिरहेको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी तथा पुनहिल क्षेत्रको वन जङ्गलमा राष्ट्रिय फूल लालीगुराँस फुलेर रौनक छाएको छ ।
समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २ सय १० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेका छन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने गरेकोमा म्याग्दीको घोडेपानी क्षेत्रमा मात्र ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
नेपालको राष्ट्रिय फूल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरु पाइने डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनाल बताउँछन् । उनका अनुसार म्याग्दीका जङ्गलमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल र राम्चेमा गुराँसले ठूलो क्षेत्र ओगटेको छ ।
कोरोनाले अत्याएका शहरिया पर्यटकहरु घोडेपानी र पुनहिल क्षेत्रमा फुलेको गुराँस देख्दा निकै खुशी हुने गरेका छन् । इलामबाट घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणमा आएकी आन्तरिक पर्यटक टीका उप्रेतीले लालीगुरासँसित टाँसिएर फोटो खिच्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको अनुभव सुनाइन् ।
“गुराँसको फेदमा बसेर, फूलसँग मितेर लाएर फोटो खिच्दा निकै आनन्दको अनुभव भयो,” उप्रेतीले भनिन्, “हामी कोरोनाको सङ्कटबाट घेरिएका छौं भन्ने नै भुलिने रैछ ।”
‘राउण्ड अन्नपूर्ण’अन्तर्गत पर्ने घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणमा हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको नयाँपुल–घान्द्रुक, म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर तथा मुस्ताङबाट म्याग्दी निस्किएर भूरुङ–तातोपानी हुँदै पोखरेबगर–घार भएर घोडेपानी–पुनहिल पुग्ने गर्छन् ।