बेनी
जेठ ४
नेकपा (एमाले) म्याग्दीले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना महामारीको रोकथाम र आवश्यक सहयोग गर्न भन्दै यसका लागि 'नेकपा (एमाले) विपद् ब्यवस्थापन सहयोग कोष’ स्थापना गरिएको हो ।
नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले उपलब्ध स्रोतलाई एकै ठाउँबाट खर्चिने गरी कोष स्थापना गरिएको जानकारी दिए । “अहिलेको महामारीबारे हामी सबै जानकार नै छौं । यस्तो बेला पीडितसम्म पुग्ने गरी राहतकोष शुरु गरौं भन्ने सल्लाहअनुसार अघि बढेका हौं ।” अध्यक्ष श्रेष्ठका अनुसार कोषमा जम्मा भएको पैसा कोरोना रोकथामका लागि खर्च गरिनेछ ।
“हामीले आफैबाट सहयोग रकम जम्मा गर्न शुरु गरेका छौं,” उनले भने, “पार्टीमा आस्था राख्ने नेता, कार्यकर्ता, शुभेच्छुक र सहयोगी मन हुनेले यो अभियानमा सहयोग गर्न सक्नुहुन्छ ।”
कोरोना महामारीको दोस्रो लहरबाट म्याग्दी पनि उच्च जोखिममा रहेकोले संक्रमण बढ्न सक्नेतिर सचेत गराउँदै अध्यक्ष श्रेष्ठले आवश्यक परेमा हाँडेभीरस्थित पार्टी कार्यालयलाई क्वारेन्टाइन वा आइसोलेसन बनाउनेबारे जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्सँग सल्लाह भैरहेको जानकारी दिए । “आवश्यक परेमा पार्टीले सवारी साधन पनि उपलब्ध गराउँछ भन्ने हाम्रो पत्रलाई डिसिसिएमसीले रेस्पोन्स गरेको छ,” उनले भने, “अब कोषमा जम्मा भएको रकम कसरी खर्चिने भन्नेबारे आवश्यक कार्यबिधि/निर्देशिका बनाएर अघि बढ्छौं ।
चार लाख रुपैयाँ सङ्कलन
यसैबीच एमाले म्याग्दीले शुरु गरेको विपद् कोषमा झण्डै चार लाख रुपैयाँ सहयोग जम्मा भएको छ । मंगलबार कोष स्थापना गरिएको केही घण्टामै उक्त रकम जुटेको हो ।
कोषका लागि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, चन्द्रकुमार केसी, सुरज केसी, प्रमोदकुमार श्रेष्ठलगायतका नेता कार्यकर्ताले रकम जम्मा गरिसकेका छन् ।