बेनी
जेठ ४
कोरोना महामारीको दोस्रो लहर विश्वव्यापी बन्दै जाँदा भाइरस पनि नयाँ नयाँ स्वरुप (म्युटेसन) मा देखिन थालेको छ । विज्ञहरुको आशंका पुष्टि हुने गरी नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालमा कोरोनाको नयाँ प्रजाति पाइएको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता सङ्कलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘जिन सिक्वेन्सिङ’ गर्दा नयाँ प्रजति देखिएको हो । प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ ।
परिवर्तित भाइरससँगै नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ प्रजातिको संख्या ३ पुगेको छ । यसअघि नेपालमा युके भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले कोरोना भाइरसको नयाँ नयाँ प्रजाति देखिन थालेको भन्दै थप सतर्क हुन अनुरोध गरेका छन् । नयाँ प्रजति अघिल्लो भन्दा थप घातक हुनसक्ने भन्दै लम्सालले जनस्वास्थ्यका न्युनतम मापदण्ड पालना गर्नुको विकल्प नभएको सुझाए ।

