बेनी
असार ७
![]() |
फाइल तस्वीर |
म्याग्दीका साहित्यकार एवं बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्की हिजोदेखि बेपत्ता भएका छन् । विद्यालय जान भनी आइतबार बिहान ८ बजेतिर घरबाट निस्किएका कार्की राति अबेरसम्म नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
परिवारजनले खबर गरेलगत्तै प्रहरी, कार्कीका आफन्त र स्थानीय बासिन्दाले विद्यालय नजिकैको म्याग्दी नदी र यस वरपरको ठाउँमा खोजी शुरु गरेका थिए । सोक्रममा कार्कीले लगाउने गरेको चप्पल, मोबाइल र इस्टकोट भेटिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
स्थानीयले आइतबार दिउँसो नै कार्कीको हत्या गरी म्याग्दी नदीको भेलमा शव फ्याँकेको आशंका गरेका छन् । विद्यालय नजिकबाट बग्ने म्याग्दीको किनारमा रगतका छिर्काहरु रहेको, घाँस, बुट्यान लछारिएको अवस्थामा पाइएकाले पनि स्थानीयको आशंकाले बल पाएको छ ।
प्रहरीले भने प्राप्त प्रमाणसहित विद्यालयमा कार्यरत केही कर्मचारीसँग सोधपुछ शुरु गरेको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बेपत्ता व्यक्तिको शव फेला नपरुन्जेल हत्या नै भएको किटान गर्न नसकिने बताउँदे घटनास्थलको प्रकृति शकास्पद रहेको प्रतिक्रिया दिएका छन् । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख राईले यसक्रममा केही व्यक्तिसँग सोधपुछ शुरु भएको बताए ।
बेनी नगरपालिका–५ बगुवाखोलामा अवस्थित बालजागृति विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको स्रोतकक्षासमेत हो ।
जिम्मेवार शिक्षक एवं स्थापित साहित्यकारका रुपमा परिचत कार्कीमाथि भएको घटनाले स्थानीय जनजीवन तरङ्गित बनेको छ ।