बेनी
असार ९
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीको हत्याको आरोपमा प्रहरीलिे स्थानीय एक युवालाई सार्वजनिक गरेको छ । बुधबार साँझ पत्रकार सम्मेलन गरी आरोपी सञ्जय बानियाँलाई सार्वजनिक गरिएको हो ।
प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले असार ६ गतेको घटनामा संलग्न भएको आरोपमा स्थानीय य२वालाई समातिएको जानकारी दिएका छन् । “असार ६ गते बिहानको समयमा भक्त कार्कीको हत्या भएको बुझिन्छ,” प्रनाउ राईले भने, “बढीमा ४ मिनेटमा घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”
प्रहरीका अनुसार घटना भएको दिन गत आइतबार बिहान फोटोकपी गर्न घरबाट विद्यालय जान भनी निस्किएको र विद्यालयबाट घर फर्किने क्रममा आरोपी सञ्जयले कार्कीमाथि आक्रमण गरेका थिए ।
“हत्या आरोपी सञ्जयले भक्त कार्कीको हत्या गरी म्याग्दी नदीमा फालेर बेपत्ता बनाएको स्वीकार गरेका छन्,” डिएसपी राईले भने, “हामी अनुसन्धानको क्रममै रहेका छौं त्यसैले अहिले नै सबै भन्न सक्ने अवस्था छैन ।”
कार्कीको हत्या गरेर भाग्नेक्रममा पर्वतको कुस्मा पुगेको सञ्जयलाई प्रहरीले पक्राउ गरी म्याग्दी ल्याएर सार्वजनिक गरेको हो ।