बेनी
असार १९
म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालले इन्डोस्कोपी सेवा शुरु गर्ने भएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उक्त सेवा शुरु गर्न लागिएको हो ।
बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले विरामीको आवश्यकतालाई दृष्टिगत गर्दै अस्पतालबाटै इन्डोस्कोपी सेवा दिने गरी उपकरण जडानको काम भैरहेको जानकारी दिएका छन ।
“हामीकहाँ पुर्वाधारको समस्या छ,” अध्यक्ष कटुवालले भने, “निर्माणाधीन भवन सम्पन्न भएको छैन तर पनि विरामीको आवश्यकता हेरीकन इन्डोस्कोपी सेवा थप्न लागेका छौं ।” म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले धौलागिरी गाउँपालिकाको लागि छुट्याएको बजेटलाई गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिदमा उपयोग गर्ने निर्णय अनुसार काम भैरहेको अध्यक्ष कटुवालको भनाइ छ ।
नाक, कान, घाँटीको समस्या भएका, आन्द्रा सुन्निएको, पित्तथैलीमा पत्थरी रहे नरहेको, गर्भावस्थाका गम्भीर विरामी, दिसापिसाबबाट रगत बग्ने लगायतका समस्या पहिचान गर्न इन्डोस्कोपी गर्ने गरिन्छ ।
इन्डोस्कोपी सेवा नहुँदा जिल्लाका विरामीहरुलाई रोगको पहिचान गर्नकै लागि पोखरा, काठमाडौंजस्ता ठुला सहरमा जानुपर्ने बाध्यता थियो ।
निक साइमन इन्स्टिच्युट र पाटन स्वास्थ्य विज्ञान पतिष्ठानबाट आएका विशेषज्ञ चिकित्सकहरुका कारण कोरोना संकटका बीचमा पनि बेनी अस्पतालले गुणस्तरीय सेवा दिइरहेको छ ।