बेनी
साउन ४
आफ्नो सम्पूर्ण दुःख भुलेर सन्तानको खुशीका निम्ति सारा संसारसँग लड्न तयार हुने व्यक्ति र असीमित मायाकी खानीलाई आमा अर्थात् महिला भनिन्छ । एउटा परिवारका लागि महिला भनेको एक सदस्य हुन् । तर, जिम्मेवारीका हिसाबले हेर्ने हो भने गृहस्थी जीवनलाई धान्ने मूल खम्बा (पिलर) का रुपमा महिलालाई लिन सकिन्छ । उनी घरकी लक्ष्मीका साथसाथै एक खम्बा पनि हुन् । उनीसँग सम्पूर्ण सबैखाले समस्यासँग जुध्ने क्षमता छ तापनि हिजोआज उनै महिला दिनानुदिन हिंसामा पर्दै गएकी छिन् ।
महिलाहरु घरकी देवी, परिवारकी बुहारी र समाजकी नारीका रुपमा चिनिन्छन् । तर, हिजोआज तिनै देवीजस्तै महिलामाथि हिँसाका घटनाहरु बढिरहेका छन् । महिला र पुरुष बराबर भए तापनि महिलालाई केही नकारात्मक दृष्टिकोणबाट हेरिने गरिन्छ । हिजोआज विश्वभर बढिरहेको कोरोना याने कि कोभिड–१९ को नकारात्मक असर महिलालाई पनि परिरहेको छ । यस भाइरसका कारण सबै मानिस आआफ्नो घरभित्रै बस्नुपर्ने बाध्यताले गर्दा महिलामाथि हुने शोषण, दमन र अनेकखाले हिंसा झनै बढ्दोक्रममा भैरहेका समाचार आइरहेका छन् । नेपालको कानुन र अन्तर्राष्ट्रिय विभिन्न व्यवस्थाले महिला र पुरुष बराबर हुन् भन्छ तापनि पुरुषको बढ्दो दमन र हिंसाका कारण महिलाहरुको बोली भित्रभित्रै हराउँदै गएको अवस्था छ ।
पुरुषवादी सोचअनुसार महिला भनेको घरको काम गर्ने, बच्चा जन्माउने, हुर्काउने मात्र हो । उनीहरुका लागि महिला भनेको बच्चा जन्माउने मेसिन मात्र हो । त्यसबाहेक अरु केही होइन । विज्ञान र प्रविधिको विकास भैरहेको आधुनिक समयमा पनि महिला हिंसाजस्ता सामाजिक कुरीति बढ्नु भनेको देश अविकसित हुनुका साथसाथै असभ्य हुनु पनि हो । जुन देशमा महिलामाथि असमानतापूर्ण व्यवहार गरिन्छ त्यस्तो देशले कहिल्यै विकासको गति लिन सक्दैन । त्यसैले महिलालाई बच्चा जन्माउने वा घरको काम गर्ने मेसिन ठान्ने सोच भएका र सोही अनुसारको व्यवहार गर्ने पुरुषमाथि कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नु जरुरी छ ।
![]() |
| प्रतीक्षा कँडेल |
अब महिलामाथि हुने हिंसाजन्य व्यवहारलाई न्युनीकरण गर्न जरुरी छ । यसका लागि एक महिलाले अर्को महिलालाई साथ दिनुका साथसाथै दमनविरुद्ध आवाज उठाएर यस्ता कुरीतिलाई जरैदेखि मेटाउन सक्नुपर्छ ।
नीतिशास्त्र भन्छः ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।’ अर्थात् जहाँ नारी याने कि महिलाहरु खुशी हुन्छन्, जहाँ महिलाको सम्मान गरिन्छ त्यहाँ देउताको बास हुन्छ । नारीलाई यस्तो सम्मान दिने गरिएको हामे संस्कृतिमा पछिल्लो समय विकृति बढ्दै गएको छ । आमाका रुपमा मानवजातिलाई नै सुन्दर संसार देखाउने महिलालाई हामी सबैले सम्मानपूर्ण व्यवहार गर्नु जरुरी छ । कानुन र नीतिनियममा मात्रै महिला र पुरुष समान् हुन् भनेर हुँदैन । अब व्यवहारमा पनि नारी र पुरुषका बीचमा समतापूर्ण व्यवहार देखिनु आवश्यक छ ।
(कँडेल प्रकाश मावि, बेनीमा विज्ञान विषय लिएर पढ्दै छिन् ।)

