बेनी
साउन ५
सडक बनाउने ठेक्का लिएको निर्माण कम्पनीले अलपत्र अवस्थामै काम छाडेको ठेकेदारलाई म्याग्दीबासी नागरिकले व्यङ्ग्यात्मक आभार व्यक्त गरेका छन् ।
जिल्लाको बेनी–दरबाङ सडक खण्डको बेनी–सिमचोक सडकखण्ड अलपत्र अवस्थामा छाड्दा उक्त सडकखण्डको छेउछाउका सयौं घरको बिचल्ली बनाएको भन्दै व्यङ्ग्य र खबरदारी गरिएको हो ।
सडक कालोपत्रे गर्ने जिम्मा लिएर जमिन कटान गरेको तर नाली र टेवा पर्खाल गतिलो नहुँदा सयौं परिवारको घरखेतमा क्षति पुगेको भन्दै सडकमा कालो ब्यानर टाँगेर ठेकेदारको विरोध गरिएको हो ।
ठेकेदार जीपछिरिङ लामाको फोटो राखेर त्यसका मुन्तिर उनी र उनको कम्पनीलाई धन्यवाद दिनुका कारण यस्तो उल्लेख छः
बाटो समयमै नबन्दा सयौं घर परिवार जोखिममा रहेको,
सर्यौं परिवारको खेतबारी पहिरो चपेटामा परेको,
गाइबस्नुका गोठ पहिरोको चपेटमा परेको,
सहजरुपमा आवतजावत गर्न कठिनाइ भएको,
यातायात अवरुद्ध हुँदा कोही विरामी भए पनि सहजरुपमा हस्पिटल जान नसक्दा ज्यानै गुमाउने अवस्था आएको...
सडक निर्माणका क्रममा जनशक्ति भन्दा डोजरको प्रयोगमा जोड दिँदा यस्तो अवस्था आएको स्थानीय बासिन्दाको भनाइ छ ।
बेनीदेखि सिमचोकसम्म १२.५८५ किलोमिटर सडक निर्माणको ठेक्का लिएको लामा समानान्तर जेभी कम्पनीले २०७६ माघ १२ सम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । तोकिएको समयमा जिम्मेवारी पूरा नगर्दा सडक यातायातमा सास्ती हुनुका साथै सडक छेउछाउका बस्ती नै विस्थापित हुने अवस्था आउने थालेको चुत्रेनीका स्थानीयले बताए ।
दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ठेकेदार लामा नेपाली काँग्रेसका नेतासमेत हुन् ।
सदरमुकाम बेनीदेखि पश्चिमा मङ्गला, मालिका र धौलागिरी गाउँपालिका जोड्ने ११ मिटर चौडाइको उक्त सडकको ७ मिटरमा कालोपत्रे गर्ने गरी ४५ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
नियामक निकाय पूर्वाधार विकास, कार्यालय म्याग्दीका अनुसार अहिलेसम्म यस सडककोे भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको छ ।
बेलैमा सडक नबनाउने ठेकेदारलाई कारवाही हुनु त परै रह्यो, पहिरोले घरगोठमा क्षति पुगेका स्थानीयको उद्धार र राहतका लागि बेनी नगरपालिकाले उल्टै लाखौं बजेट खर्चिनुपरेको छ ।