Notification

×

Iklan

Iklan

समाचार सङ्कलनमा अवरोध गरेको भन्दै म्याग्दीका सिडिओको विरोध

Sunday, July 11, 2021 | July 11, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार २७

 



समाचार सङ्कलनको लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि दुरव्यवहार भएको भन्दै म्याग्दीका पत्रकारसम्बद्ध संघसंस्थाहरुले विरोध गरेका छन् । द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार सङ्कलनमा पुगेका पत्रकारहरु धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दुरव्यवहार गरेको भन्दै विरोध गरिएको हो। 


समाचार सङ्ककलनका लागि प्रशासनमा पुगेका पत्रकार खत्री र राम्जालीलाई समाचार, तस्वीर र दृश्य सङ्कलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।


द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्ने सवालमा सरोकारवाना निकायमा हुनुपर्ने दायित्वबोध र सङ्क्रमणकालीन न्यायप्रक्रिया विश्वासिलो हुनुपर्ने माग गर्दै द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष सुरेन्द्र खत्रीको नेतृत्वमा एउटा समुह आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सोही कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकारद्वयमाथि दुव्र्यवहार भएको हो ।


समाचार संकलनमा अवरोध खेपेका पत्रकार साधन राम्जालीले आफुहरु पत्रकार भएको र समाचार संकलनका लागि आएको भन्दासमेत प्रजिअ अधिकारीले तस्वीर लिन रोक लगाउँदै कार्यकक्षबाट निकालेको जानकारी दिए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव रहेका राम्जाली जिल्लादेखि केन्द्रसम्मका विभिन्न सञ्चारमाध्यममा आबद्ध छन् । 


समाचार संकलनमा पुगेका पत्रकारप्रति गरिएको व्यवहारको म्याग्दीका पत्रकारसम्बद्ध संघसंस्थाले विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखा, प्रेस चौतारी म्याग्दी, नेपाल प्रेस युनियन, म्याग्दी मिडिया सोसाइटीलगायतका संस्थाहरुले प्रेस विज्ञप्ती प्रकाशन गरी प्रजिअ अधिकारीको कार्यशीलीको विरोध गरेका छन् ।




विज्ञप्तिमा पत्रकारप्रति गरिएको दुव्र्यवहारको आपत्ति जनाउँदै आगामी दिनम यस्ता कमजोरी नदोहो¥याउन माग गरिएको छ । नेपालको संविधान र ऐन, कानुनले पत्रकारले स्वतन्त्रतापुर्वक समाचार संकलन गर्न पाउने व्यवस्था गरेको भन्दै पत्रकारसम्बद्ध संघसंस्थाहरुले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने काम नगर्न नगराउन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।


यसैबीच म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पुर्वजानकारी बिनै आफ्नो कार्यकक्षमा पुगेर एक्कासी तस्वीर र भिडियो लिन खोजिएपछि ‘युट्युबर’ भएको आशंकामा आफुले कार्यकक्षबाट बाहिर निस्कन भनेको प्रतिक्रिया दिएका छन्।


×
Berita Terbaru Update