भाद्र ३१, २०७७
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे विद्यालय तहमै पठनपाठन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमासम्बन्धी जानकारी दिन यस्तो व्यवस्था गरेको हाे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेलले मंगलबार मन्त्रालयमा अायाेजि भर्चुअल पत्रकार सम्मेलन मार्फत् स्वाध्ययन पुस्तिका सार्वजनिक गरे ।
केन्द्रका महानिर्देशक केशव दाहालले स्वअध्ययन सामग्रीलाई पाठ्यक्रमसँग जोडेर पनि पठनपाठन गराउन सकिने बताए । नेपालको भू-भाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले पुस्तक तयार पारिएको केन्द्रले बताएकाे छ ।
उक्त कार्यक्रममा बाेल्दै मन्त्री गिरिराजमणि पोखरेलले नेपालको निर्माण, छिमेकी मुलुकहरूसँगको सम्बन्ध, सिमाना र त्यससम्बन्धी विवाद र समाधानका उपायबारे पुस्तिकाले विद्यार्थीलाई सहयोग पुग्ने धारणा राखेका थिए ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पुस्तकमा कालापानीसहितको नक्सा प्रकाशन र पुस्तक लेखन गर्न गत असार १९ गते स्वीकृति दिएको थियो । विभिन्न मन्त्रालय र विज्ञहरुको संलग्नतामा पुस्तक तयार पारिएको केन्द्रले जनाएको छ । याे सामग्री विद्यार्थी र आम सर्वसाधरणलाई पनि सीमा सम्बन्धी जानकारी दिन उपयुक्त रहेको केन्द्रले जनाएको छ ।
नोभेम्बर २०१९ मा भारतले कालापानी सहितको नक्सा सार्वजनिक गरेपछि नेपालमा असन्तुष्टि बढेको थियो । सार्थक संवादका लागि नेपालले गरेको बारम्बारकाे अाग्रहलाई लत्याउँदै भारतले एकतर्फी रूपमा सडक खन्ने र भर्चुअल माध्यमबाट सडक उद्घाटनसमेत गरेको थियाे ।
त्यसको जवाफमा नेपाल सरकारले नेपालका अतिक्रमित भूमि समेटिएको नक्सा प्रकाशित गरिसकेको छ ।
केन्द्रका महानिर्देशक दाहालका अनुसार नेपालको पश्चिमोत्तर सीमाक्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यता अनुरूपका तथ्य तथ्यांक र प्रमाणहरूका आधार पुस्तिकामा राखिएको छ ।
पुस्तिकालाई सामाजिक अध्ययन, इतिहास, भूगोल लगायतका विषयको अध्ययन, अध्यापन र सहजीकरणका सिलसिलामा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिने उनले जनाए ।
पुस्तिकामा प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र संकुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको जानकारी पनि राखिएको छ ।