बेनी
कात्तिक ८
बडादशैंको आज आठौं दिन । देशभर दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । आजैको दिन देवीले राक्षसहरुलाई मारेको दिनको प्रतीक स्वरुप जनावरहरुको बलि दिने चलन रहेको छ । पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् । कतिपय ठाउँमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवनीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज महाअष्टमीको पूजाआजा गरिन्छ । यस अवसरमा शक्तिपीठ वा दुर्गा मन्दिरमा बत्ति बाल्ने चलन पनि छ ।
आजकै दिन मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण प्रदान गर्छिन् भन्ने जनविश्वास छ ।
![]() |
राखुकोट |
दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
म्याग्दीमा बेनी भगवती, राखुकोट, ज्यामरुककोट, ताकमकोट लगायतका महत्वपूर्ण शक्तिपीठहरु छन् । विगतका वर्षहरुमा यी कोटहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर, यस वर्ष कोरोना भाइरसको महामारीका कारण शक्तिपीठमा नित्यपूजा र साङ्केतिक कार्यक्रम मात्रै भैरहेका छन् ।
यसैबीच हिजो आश्विन शुक्ल सप्तमी अर्थात् फुलपातीका दिन म्याग्दीका विभिन्न दुर्गा मन्दिर एवं कोतघरहरुमा फुलपाती भित्र्याइएको छ ।
सदरमुकाम बेनीको कोतघरमा सीमित उपस्थितिमा फुलपाती भित्र्याइएको छ भने विभिन्न कोटमा पनि बाजागाजा नबजाई पुजारीबाट मात्रै फुलापाती भित्र्याउने काम भएको छ ।