बेनी
असोज २७
सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले वैकल्पिक सिकाइलाई निरन्तरता दिएको छ । कोरोना महामारीको सन्त्रासका बीच न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालयले शैक्षिक गतिविधि कायम राखेको हो ।
“टोल शिक्षाका लागि हामी चौथोपटक विद्यार्थी भेट्न जाँदैछौं,” सोमबार बगरफाँट जान लागेका शिक्षक नारायणप्रसाद ढुङ्गानाले भने, “अब दशैं र तिहारलाई समेत हुनेगरी गृहकार्य दिन्छौं ।” सिकाइ सहजीकरणमा स्वास्थ्य मापदण्डको ख्याल गरिएको र भेटिएजति विद्यार्थीलाई मास्क र स्यानिटाइजरको प्रयोग गर्न लगाएको ढुङ्गानाले बताए ।
गत भदौ १९ गते सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ जारी गरेपछि प्रकाश माविले पनि आफ्नो सेवाक्षेत्रलाई सातओटा कलस्टरमा विभाजन गरी टोल शिक्षा शुरु गरेको थियो । यस अन्तर्गत पर्वतको मिलनचोकदेखि पर्वत बेनी हुँदै बगरफाँट तथा म्याग्दीको गलेश्वर, खबरा, बगरफाँट, दुधेखोला, चुत्रेनी हुँदै बजार क्षेत्र समेट्ने गरी कलस्टर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले जानकारी दिए । “विद्यार्थीले पढ्नै पर्ने विषय समेटेर सरकारले पाठ्यक्रमको समायोजित ढाँचा सार्वजनिक गरेपछि हामी विद्यार्थीसँग पुग्नुको विकल्प थिएन,” प्रअ सुवेदीले भने, “त्यसैले टोलशिक्षाका लागि समूह विभाजन गरेर अघि बढ्यौं ।” बेनी नगरपालिकाले उपलब्ध गराएको स्वाध्ययन सामग्री (१–५ कक्षाको लागि), तह र विषयगत गृहकार्य तथा अन्य शैक्षिक सामग्री, स्यानिटाइजर र मास्कसहित शिक्षकहरुलाई विद्यालयको सेवाक्षेत्रमा खटाइएको प्रअको भनाइ छ।
त्यसो त प्रकाश माविले गत चैतमै एसईईका विद्यार्थीलक्षित अनलाइन कक्षा शुरु गरेको थियो । सबै विद्यार्थीसँग स्मार्टफोन उपलब्ध नहुनु, अनियमित विद्युत् कटौती, नेटवर्कको समस्याजस्ता कारणले यसको दायरा सीमित बनेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले अनलाइन कक्षाले सबैलाई समेट्न नसकेको अवस्थामा वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रममार्फत् अघि बढेको जानकारी दिए । “हाम्रोमा माध्यमिक तहको अनलाइन कक्षा चैतदेखि नै चलिरहेको छ,” हमालले भने,“अंग्रेजी माध्यमबाट अध्ययन गर्ने कक्षा ९, १० र विज्ञान विषय समूहका ११ र १२ कक्षाको पढाइ रोकिएको छैन ।”
विद्यालयको मावि तहमा कार्यरत शिक्षक टेकप्रसाद सुवेदीले चर्चा पाउन भन्दा पनि विद्यार्थीप्रतिको जिम्मेवारीबोधले अनलाइन कक्षा सञ्चालन गरिएको धारणा राखे । “अनलाइन कक्षा शुरु गर्नेमात्र नभई त्यसलाई टिकाउनु हाम्रा लागि चुनौति थियो,” विज्ञान विषयका शिक्षकसमेत रहेका उनले भने, “तर, सबै विद्यार्थीसँग अनलाइन कक्षाको पूर्वाधार नहुँदा समस्या देखियो ।”
सरकारले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि विद्यार्थीलाई पाँच समूहमा विभाजन गरेको थियो । तर, योजना बनाउन जस्तो कार्यान्वयन सरल नभएको अर्का शिक्षक प्रवीण श्रेष्ठले बताए । विद्यालयमा पढ्ने धेरैजसो बालबालिका विपन्न परिवारका भएकोले वैकल्पिक सिकाइ सहजीकरण कम प्रभावकारी भैरहेको उनको अनुभव छ ।
|
सरकारको पछिल्लो निर्देशनसँगै विद्यालयले शिक्षकहरुलाई समूहलाई कलस्टरमा विभाजन गरी विद्यार्थी पहिचान, परामर्शसहितको वैकल्पिक सिकाइ तथा गृहकार्य दिन शुरु गरेको अर्का शिक्षक डिलप्रसाद श्रेष्ठले बताए । “साप्ताहिक रुपमा शिक्षकहरु तोकिएको ठाउँमा गएका छन्,” उनले भने, “तर, मूल्याङ्कनको स्पष्ट मापदण्ड नहुँदा अन्योल भयो ।”
![]() |
फाइल तस्विर |
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले महामारीका बेला वैकल्पिक उपायबाट पठनपाठन सञ्चालन गर्नु राम्रो काम भएको बताए । “सङ्कटका बेला गरिने ससाना प्रयास पनि महत्वपूर्ण हुन्छन्,” थापाले भने, “वैकल्पिक तथा भर्चुअल कक्षालाई सबै वर्गका विद्यार्थीको पहुँचमा पु¥याउनु सरोकारवाला सबैको जिम्मेवारी हो ।” वैकल्पिक सिकाइसम्बन्धमा म्याग्दीमा पालिकास्तरमा पनि विभिन्न प्रयास भैरहेको तर, त्यो पर्याप्त र प्रभावकारी नभएको थापाको भनाइ छ ।
सरकारले चैत दोस्रो सातादेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दी अहिले आंशिकरुपमा खुला गरेको छ । तर, सङ्क्रमणको जोखिम बढी भएको क्षेत्र भएको भन्दै विद्यालय खोल्न अनुमति दिएको छैन ।