बेनी
कात्तिक २७
स्वदेश र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नयाँ पोर्टल सञ्चालन गरिएको छ । संसारका जुनसुकै विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रुपमा ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको हो ।
हाल अष्ट्रेलयमा रहेका शिक्षाकर्मीद्वारा सञ्चालत सो वेबसाइटको आज त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भर्चुअलरुपमा शुभारम्भ गरे । सो पोर्टलमा विश्वभरका विश्वविद्यालय र त्यहाँ अध्ययन हुने विषयबारे एकीकृत सूचना प्राप्त हुने बताइएको छ ।
यसमा नेपालका सबै विश्वविद्यालयका ६०० विषयसमेत समावेश गरिएको पोर्टलका संस्थापक टीएन अर्यालले जानकारी दिए । एक वर्ष लगाएर २० जना जनशक्तिले तयार गरेको यस प्रकारको पहिलो पोर्टलमा विद्यार्थीले उच्चशिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोबास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसरलगायतका महत्वपूर्ण जानकारी समावेश छ।
शिक्षाविद् माथेमाले विद्यार्थीले राम्रा प्राध्यापक, विश्वविद्यालयको वातावरण र शुल्कसमेत बुझेर भर्ना गर्ने भएकाले उनीहरुलाई एकीकृत र सही सूचना दिनु आवश्यक रहेको बताए । उनले नेपालको शिक्षाका राम्रा पक्षलाई पनि अन्तर्राष्ट्रियकरण गराउन आग्रह गरे ।
शैक्षिक मञ्चको रुपमा नयाँ पोर्टल शुरु भएकोमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, त्रिविका पूर्वउपकुलपतिहरु डा कमलकृष्ण जोशी, त्रिविका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँ उच्च माध्यमिक तथा शिक्षालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले विद्यार्थीलाई एकीकृत सूचना उपलब्ध गराउन सफलताको शुभकामना व्यक्त गरेका छन् ।