Notification

×

Iklan

Iklan

बिजुक्छे भन्छन्: "प्रधानमन्त्रीले देशलाई सङ्कटबाट जाेगाए"

Tuesday, December 22, 2020 | December 22, 2020 WIB Last Updated 2021-12-30T03:24:47Z

भक्तपुर 

पुस ७


नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्रीले गैरसंवैधानिक काम गरेकाे आरोप लागिरहेको बेला सादगी कम्युनिस्ट नेताका रूपमा परिचित बिजुक्छेकाे यस्तो धारणा आएको हाे ।




उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए ।


वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासस प्रतिनिधिसँग कुरा गर्दै उनले भने, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोमा जानबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।”


संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औंल्याए ।


प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राखे । उनले भने, “प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिं पार्नुभएको हो ।”


दुई तिहाइ बहुमत नजिकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उहाँले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए ।


८२ वर्षीय नेता बिजुक्छेले भने, “देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो ।”


गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको बिजुक्छेकाे तर्क थियाे । उनले नयाँ जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जाेड दिए ।


राससकाे सहयाेगमा


×
Berita Terbaru Update