बेनी
फागुन १०
गएको २२ वर्षदेखि चर्चा र प्रतीक्षाको विषय बनेको मेलम्ची खानेपानीको सुरुङको परीक्षण आजदेखि शुरु हुने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर परीक्षण शुरु गर्न लागेका हुन् ।
सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंसम्मको सुरुङको दुरी साढे २६ किलोमिटर रहेको छ ।
खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।
गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।
आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको बताएका छन् ।
वि.सं. २०५६ सालदेखि शुरु भएको मेलम्ची खानेपानी आयोजना अहिलेसम्म पूरा हुन सकेको छैन । देशको राजधानीका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने भनिएको आयोजना २२ वर्षसम्म पूरा हुन नसक्नुले नेपालको विकास निर्माण क्षेत्रमा विद्यमान ढिलासुस्ती र गैरजिम्मेवारीपन उदाङ्गो भएको जानकारहरुको भनाइ छ ।