बेनी
माघ २४
म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा स्थापित देवाधिदेव महादेवको मूर्ति अनावरण गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले शनिबार आयोजित एक विशेष समारोहबीच उक्त मूर्तिको अनावरण गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघ स्थापनाको ५०औं वर्षगाँठका अवसरमा निर्मित ‘स्वर्णस्तम्भ’को शिरमा महादेवको मूर्ति स्थापना गरिएको थियो ।
प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम र मुक्तिनाथ जानका लागि प्रवेशद्वारका रुपमा रहेको कालीपुलमा महादेवको मूर्ति स्थापना गरेपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने म्याग्दी उद्योग वाणिज्य संघले अपेक्षा गरेको छ ।
साढे ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ‘स्वर्णस्तम्भ’ करिब ७ फिट अग्लो रहेको र त्यसको शिरमा महादेवको मूर्ति राखिएको छ ।
स्वर्णस्तम्भ उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रमुख जिल्ला जिल्ला अधिकारी उमाकान्त अधिकारीलगायतको सहभागिता थियो ।