बेनी
माघ २१
बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले म्याग्दी सदरमुकाम बेनी बजारमा पनि शाखा विस्तार गरेको छ । बुधबार बेनीमा आयोजित एक कार्यक्रमबीच संविधान सभा सदस्य नवराज शर्मा र संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले संस्थाको १७औैं सेवाकेन्द्रका रुपमा बेनी सदस्य केन्द्रको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
म्याग्दीको नमस्ते बहुउद्देश्यीय सहकारी संस्था र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीबीच एकीकरण भएपछि बुधबारदेखि बेनी सदस्य केन्द्रका रुपमा साविकको नमस्ते सहकारीको भवनबाट कारोबार शुरु गरिएको हो ।
उद्घाटनपछि बोल्दै संविधान सभा सदस्य नवराज शर्माले सरकारको तीन खम्बे अर्थनीतिलाई सघाउन सहकारी क्षेत्रको ठूलो योगदान रहेको विचार व्यक्त गरेका छन् । सिवाईसी सहकारीले धौलागिरी क्षेत्रमै उदाहरणीय काम गरेको चर्चा गर्दैै शर्माले सहकारीको संख्याभन्दा पनि गुणस्तरीय सुविधाप्रति ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सञ्चालक समितिका अध्यक्ष चन्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, सहकारी संघ म्याग्दीका पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१३ हजार ४४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार ६६५ बचत सङ्कलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको कार्यक्रममा जानकारी गराइएको थियो । सहकारीको एटिएम, मोबाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिस्डकल, ई–टेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको सहकारीका सञ्चालक समितिका सह–सचिव सुवास आचार्यले जानकारी दिए ।
सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरी सामाजिक उत्तरदायित्वका विभिन्न योजनाहरु समावेश गर्दै आएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनी सदस्य केन्द्र सञ्चालन तथा व्यवस्थापन उपकेन्द्रका संयोजक तुलसीनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय उपाध्यक्ष गण्डकी थापा अधिकारीले गरेका थिए ।