बेनी
माघ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना र पर्वतको कुस्मा नगरपालिकाको खुर्कोटमा निर्माण सम्पन्न भएको कालीगण्डकी करिडोरअन्तर्गतको विद्युत् सबस्टेशनको उद्घाटन गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट भर्चुअलरुपमा दुबै सबस्टेशन र उक्त क्षेत्रमा निर्मित प्रसारण लाइनको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीबाट उद्घाटन भएसँगै कालीगण्डकी करिडोर २२०/१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । यो सँगै आजदेखि २२०/१३२/३३ केभी दाना सबस्टेसन र २२० केभी कुस्मा सबस्टेसन पनि पूर्णरुपमा सञ्चालनमा आएका हुन् ।
प्रधानमन्त्रीले आयोजनास्थलमै आएर उद्घाटन गर्ने कार्यक्रम तय भए पनि विभाजित नेकपाको माधव–प्रचण्ड पक्षले गरेको आमहड्तालका कारण भर्चुअलरुपमा सबस्टेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल भौतिकरूपमा उपस्थित भएका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारीलगायतका पदाधिकारी पनि आयोजनास्थल पर्वतको कुस्मा आएका थिए ।
प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत निर्माण अगाडि बढाइएको कालीगण्डकी करिडोरको पहिलो खण्डमा दाना, कुस्मा सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन पर्छन् । सन् २०१६ अप्रिल २४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम पूरा गर्न ३ अर्ब ६७ करोड २३ लाख ३२ हजार ३ सय ७६ रुपैयाँ अनुमान गरिएको थियो ।
भारतको जेभी अफ टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीले अहिलेसम्म ९७ प्रतिशत निर्माण पूरा गरिसकेका छन् । करिडोर आयोजनामा सरकार र एसियाली विकास बैंकको संयुक्त लगानी रहेको छ ।
सबस्टेसनबाट करिब १२०० मेगावाट विद्युत् २२० केभी दाना–कुस्मा–न्यू बुटवल प्रसारण लाइनमा प्रसारण हुनेछ । यस्तै, ३०० मेगावाटबराबरका जलविद्युत् केन्द्रहरू १३२ केभीमा कुस्मा सबस्टेसनमार्फत आवद्ध गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । गण्डकी प्रदेशको धौलागिरी क्षेत्रको कालीगण्डकी, म्याग्दी, राहुघाट तथा मोदी बेसिनका सम्पूर्ण जलविद्युत् आयोजनाको विद्युत् यही लाइनमा प्रवाह गरी बुटवलसम्म पु¥याउन सकिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
२२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किट प्रसारण लाइन पनि यसअघि नै सञ्चालनमा आइसकेको छ । ३९.६ किलोमिटर दुरी रहेको दाना–कुस्मा प्रसारण लाइनका लागि ११० वटा टावर निर्माण गरिएको छ ।