बेनी
फागुन २८
नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डा.भूपेन्द्रबहादुर खड्काको अस्तु सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीमा सेलाइएको छ । नेपाली काँग्रेस म्याग्दीका पदाधिकारीहरु, पार्टी नेता–कार्यकर्ता र स्थानीयहरु सहभागी भई नदी किनारमा अस्तु सेलाइएको हो ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु सहभागी एक कार्यक्रमपछि स्वर्गीय खड्काको अस्तु कालीगण्डकीमा लगेर सेलाइएको थियो ।
बेनी नगरपालिका–८, सङ्गमचोक निवासी खड्काको ८० वर्षको उमेरमा गएको मङ्गलबार काठमडौंस्थित छाउनी अस्पतालमा निधन भएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं कानुनविद् सुदर्शनकुमार श्रेष्ठले स्वर्गीय खड्काले म्याग्दीका आदर्श जीवन बाँचेको स्मरण गरे । “भूपेन्द्र सरले देखाउनु भएको आदर्श पछ्याउन सक्ने हो भने पनि हाम्रो जीवन सफल हुन सक्छ” खड्कालाई आफ्नो कानुनी गुरु मान्ने गरेका श्रेष्ठले भने, “जीवनको अन्तिम क्षणसम्म कालीगण्डकी नदीको नजिकै रहेर भूपेन्द्र सरले आफ्नो कर्मभूमिप्रतिको निष्ठा पूरा गर्नुभएको छ ।”
बागलुङमा जन्म भई म्याग्दीलाई कर्मथलो बनाएका स्वर्गीय खड्का नेपाली काँग्रेस म्याग्दीको पूर्व सभापति हुनुका साथै जिल्लाको शैक्षिक, सामाजिक क्षेत्रका लागि स्थापित बनेका थिए ।
स्वर्गीय खड्काको निधनमा शोक जनाउँदै नेपाली काँग्रेस म्याग्दीले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाएको थियो ।
खड्काको सम्झनामा चैत १ गते आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ । उक्त सभामा नेता रामचन्द्र पौडेल सहभागी हुने जानकारी गराइएको छ ।
स्वर्गीय खड्काका एक छोरा र एक छोरी छन् ।