बेनी
असार २
![]() |
म्याग्दी सदरमुकाम बेनीमा बढेको कालीगण्डकीको सतह |
विगत तीन दिनदेखि मौसमी वर्षा भैरहेकाले विपद्को जोखिम बढेको छ । मौसम विभागलगायतका सरोकारवाला निकायले अघिल्लो वर्षभन्दा यसपटक धेरै पानी पर्ने पूर्वानुमानसहित आवश्यक तयारी गर्न सरकारलाई सुझाव दिएका थिए ।
उता मुलुकका तीनओटै सुरक्षा निकायले पनि मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबानलगायतका विपद व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि आफ्नो संगठन पूर्णरुपमा तयारी अवस्थामा रहेको मंगलबार जानकारी गराएका हुन् । पूर्वतयारी, उद्दार,पुनर्स्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरुको भनाई छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सेनाले विपद् प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताएका छन् । विपद्का घटना हुने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट एक तिहाईको जनशक्तिलाई विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने पनि पौडेलको भनाइ थियो । नेपाली सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट रहेको उल्लेख गर्दै उनले ती युनिटलाई विपद्को समयमा परिचालन गरिने जानकारी दिए ।
विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद् व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको उनले जनाए ।
त्यसैगरी,सशस्त्र प्रहरी बलले पनि विपद्को प्रतिकार्य गर्न आफ्नो तयारी पूरा भएको बताएको छ । प्रवक्ता राजु अर्यालले पूर्वतयारीका सम्पूर्ण काम पूरा गरिसकेको जानकारी दिएका छन् ।
सशस्त्रमा विपद् व्यवस्थापनको तालिम लिएका जनशक्ति १ हजार ९ सय १८ रहेको बताउँदै उनले उक्त जनशक्तिलाई प्रत्येक प्रदेशमा एक–एक समूह, उपत्यकामा दुईवटा र विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुई वटा गरी १० वटा समूह परिचालन गरिने अर्याले बताए । त्यसबाहेक उपत्यकासहितका ८ वटा बाहिनी, गण,गुल्म, बिओपी स्तर र अन्य बेसहरुमा पनि विपद् व्यवस्थापनको लागि समूह तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
उता, नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले विपद्को प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको जानकारी दिएका छन् । प्रहरीले केन्द्रका र स्थानीय तहका विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर कामअघि बढाइसकिएको जानकारी गराइएको छ ।
विपद्को समयमा प्रहरी संगठनभित्र रहेको साधन, स्रोतलाई अधिकतम प्रयोग गर्ने उनले स्पष्ट पारे । प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औंजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको पनि बताएका छन् ।