Notification

×

Iklan

Iklan

आईसीयूमा फेरि कोरोनाका संक्रमित बढ्न थाले

Saturday, July 24, 2021 | July 24, 2021 WIB Last Updated 2021-12-30T03:22:48Z

बेनी

साउन ९


फाइल तस्वीर 


कोरोना भाइरसको महामारी (कोभिड–१९) बाट संक्रमित भएकाहरुको संख्या बढ्न थालेसँगै सघन उपचार कक्ष (आईसीयू) मा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार, एक सातायता आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै गएको हो । 


दुई साताअघि २५ असारमा देशभर ५३९ जनाको आईसीयूमा र १६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। त्यसको एक सातापछि १ साउनमा पनि ५७८ जनाको आईसीयूमा र १७४ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर आज भने ६८२ जनाको आईसीयूमा र १७५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो एक सातामा भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या स्थिर रहे पनि आईसीयूमा उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै आएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार, २ साउनमा ५८३ जना, ३ साउनमा ५६१ जना, ४ साउनमा ५६४ जना, ५ साउनमा ५९२ जना, ६ साउनमा ६२७ जना, ७ साउनमा ६३५ जना र ८ साउनमा ६८२ जना पुगेका छन् ।


आज सबैभन्दा बढी बागमती प्रदेशमा ३९६ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यस्तै, प्रदेश १ मा १३१, गण्डकीमा ७८, लुम्बिनीमा ५३, कर्णालीमा ११, सुदूरपश्चिममा आठ र प्रदेश २ मा पाँच जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या पनि बागमती प्रदेशमै धेरै छ। बागमतीमा ९५, प्रदेश १ मा ५५, गण्डकीमा १५, लुम्बिनीमा लुम्बिनीमा ६, सुदूरपश्चिममा तीन र कर्णालीमा एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश २ मा कसैलाई पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छैन ।


अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सबैभन्दा बढी बागमतीमा एक हजार २७२ जना रहेका छन् । यसैगरी, प्रदेश १ मा ७०७, लुम्बिनीमा ३१६, गण्डकीमा १४५, कर्णालीमा ११९, सुदूरपश्चिममा ९५ र प्रदेश २ मा २४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।


स्वास्थ्य मन्त्रालयले पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्न थालेकाले कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न तथा स्वास्थ्य संस्थालाई अक्सिजन र शैयाको व्यवस्था गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।


स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी अक्सिजन र शैयाको व्यवस्था गर्न पनि अनुरोध गरेका हुन् ।


स्वास्थ्य मन्त्रालयले भनेको छ, “संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउनसक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शैया लगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्नुहुन अनुरोध समेत छ ।”


कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यस अनुसार नघटेको उल्लेख गर्दै विज्ञप्तिमा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।


×
Berita Terbaru Update