Notification

×

Iklan

Iklan

भोलिदेखि शिक्षक, सवारी चालक र अपाङ्गता भएका व्यक्तिले पनि खोप पाउने

Monday, July 12, 2021 | July 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी 

असार २८




सरकारले भोलिदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोन्सन एन्ड जोन्सन खोप भोलिदेखि पहिलो मात्राका रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी दुईमध्ये जोन्सन एन्ड जोन्सन खोप चाहिँ एक मात्रा लगाए पुग्ने विज्ञहरुको भनाइ छ ।


मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ । यस्तै विश्वविद्यालय, क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक, सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने मन्त्रालयले उल्लेख गरेको छ ।


यस्तै ५० देखि ५४ वर्ष उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ’क’ र ’ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने भएको छ ।


खोप लगाउन जाँदा आधिकारिक प्रमाण पुग्ने नागरिकता, राहदानी, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।


शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।


नेपालले खोप खरिदका लागि भारतीय खोप उत्पादक सेरम इन्स्टिच्युटलाई बैना रकम दिएको थियो । तर, भारत सरकारले खोप निर्यात नगर्ने नीति लिएपछि नेपालले बैना रकम बुझाएर पनि खोप आउन सकेको थिएन । पछिल्लो समय 

 सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरिको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो खेपमा ८ लाख डोज खोप नेपाल आइसकेको छ । त्यस्तै कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख डोज खोप हिजोमात्रै नेपाल आएको थियो ।


चिनियाँ र अमेरिकी खोप नेपाल आएपछि सरकारले कारोना भाइरसविरुद्धको खोप अभियानलाई निरन्तरता दिन लागेको हो ।


×
Berita Terbaru Update