Notification

×

Iklan

Iklan

सहमति कार्यान्वयन गराउन शिक्षकहरु रिले अनशनमा

Friday, July 30, 2021 | July 30, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

साउन १५



विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीसँग सम्बन्धित माग सुनुवाई नभएको भन्दै म्याग्दीका शिक्षकहरुले रिले अनशन शुरु गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग यसअघि भएका सहमति कार्यान्वयनमा दबाव दिने उद्देश्यले अनशन शुरु गरिएको हो ।



नेपाल शिक्षक महासंघ, म्याग्दीका अध्यक्ष जयराम सुवेदीले महासंघ केन्द्रको अगुवाईमा भएको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत म्याग्दीमा पनि रिले अनशन शुरु भएको जानकारी दिए । “हाम्रा कुनै नयाँ माग छैनन्, यस अघि भएका सहमति र सम्झौता छिटो कार्यान्वयन गराउन रिले अनशन बस्नुपरेको हो,” अध्यक्ष सुवेदीले भने ।




शिक्षक महासंघ, म्याग्दीका पदाधिकारी तथा विभिन्न विद्यालयका शिक्षकहरुले सहभागिता जनाएका अनशनमा शिक्षकहरुले  जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय बेनी तथा स्थानीय तहहरुमा धर्ना दिएका थिए।


सरकारले अविलम्ब संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित समस्याको सम्बोधन गरिनुपर्ने, बजेटमा घोषणा भएअनुसार बालकक्षामा कार्यरत शिक्षकहरुको पारिश्रमिक वृद्धि गरिनुपर्ने, हचुवाको भरमा शुरु भएको शिक्षकहरुको दरबन्दी मिलानलाई व्यवस्थित बनाउनुपर्ने र शिक्षकहरुलाई पनि निजामति कर्मचारीसरहको सेवासुविधाको व्यवस्था हुनुपर्ने लगायतका मागसहित शिक्षक महासंघ अनशनमा उत्रिएको हो ।



×
Berita Terbaru Update