Notification

×

Iklan

Iklan

शिशु च्यापेर परीक्षा दिँदे सात दिनकी सुत्केरी

Tuesday, August 3, 2021 | August 03, 2021 WIB Last Updated 2022-07-30T07:39:31Z

बेनी

साउन १९




हिमाली जिल्ला म्याग्दीमा सात दिनकी एक सुत्केरी वार्षिक परीक्षामा सहभागी भएकी छिन् । धवलागिरी गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ का परीक्षार्थी सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । 


विद्यालयको शिक्षाशास्त्र विषयसमुहमा अध्ययनरत ती विद्यार्थीले तीन ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए । “हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौं,” प्रअ सुवेदीले भने, “सामान्य विद्यार्थीहरु जस्तै एउटै हलमा बसेर सुत्केरी अवस्थाकी विद्यार्थीले पनि परीक्षा दिनुभएको छ । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि सुत्केरीको निगरानी गर्न भनेका छौं ।” 




प्रकाश माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले सात दिनको सुत्केरी परीक्षामा सहभागी भएको बताउँदै आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिइन् । “बच्चाको तौल अलि थोरै छ,” गत वर्ष विद्यालयको स्वस्थ्यकर्मीमा नियुक्त भण्डारीले भनिन्, “घाम लागेको बेला घाममा सुताउन भनेकी छु, अरु सबै ठीक छ ।”


‘भर्खरको सुत्केरी मान्छे, परीक्षा त पछि दिएको भए हुन्थेन ?’ भन्ने प्रश्नमा छोटो उत्तर दिँदै उनले भनिन्, “(परीक्षा दिन) सक्छु भनेरै आएको हो ।”


सुत्केरी अवस्थामा आमा र शिशुको अतिरिक्त स्याहार गर्ने नेपाली प्रचलन छ  । तर, जिल्लाको दुर्गम मुदीकी यी छात्रा भने शिशु बच्चा च्यापेरै वार्षिक परीक्षामा सहभागी भैरहेकी छिन् । 


गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्युनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि प्रकाश माविले गएको आइतबारदेखि परीक्षा शुरु गरेको हो ।


“परीक्षा बोर्डको निर्देशनअनुसार ‘जेड’ आकारमा विद्यार्थीको बसाइ व्यवस्थान गरेका छौं,” विद्यालयका प्रअ सुवेदीले भने, “सुत्केरीको मात्र नभई हरेक विद्यार्थीलाई संक्रमणको जोखिम कम हुने गरी व्यवस्थापन गरेका छौं ।”




विद्यार्थीको उपस्थिति उत्साहजनक 

यसैबीच प्रकाश माविमा सञ्चालित कक्षा ११ को परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति देखिएको छ । महामारीका कारण वैशाखदेखि अनलाइन कक्षाको भरमा पढेका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन् । 




कक्षा ११/१२ तर्फका संयोजक कविराम थापाले कक्षा ११ का कुल २४५ विद्यार्थीमध्ये २३७ जना परीक्षामा सहभागी भएको जानकारी दिए । “विद्यार्थीको उत्साहजनक उपस्थिति छ,” सयोजक थापाले भने, “लकडाउनको बेला अनलाइन माध्यमबाट पठनपाठन गरिएका कारण पनि विद्यार्थीलाई परीक्षामा सहभागी हुन प्रेरित गरेको पाएका छौं।”


विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र र मानवीकि विषयसमुहको पठनपाठन हुँदै आएको प्रकाश माविमा कक्षा ११ र १२ मा मात्रै पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । 


×
Berita Terbaru Update