३१ भदौ, २०७७
काेराेना भाइरसले निम्त्याएको जाेखिमलाई बेवास्ता गर्दै मेला अायाेजना गरेका धाैलागिरि गाउँपालिका-७ ताकमका युवालाई कारवाही गरिएको छ । सरकारको स्वास्थ्य मापदण्डलाई लत्याउँदै मेला सञ्चालन गरेका स्थानीय सुमन केसी, किरण गुरूङ र दिनेश केसीलाई सङ्क्रामक राेग ऐन-२०२० अनुसार कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
काेराेना राेकथामका लागि सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य सुरक्षाको मापदण्ड विपरीत हुने गरि ताकममा भदौ २६ देखि २९ गतेसम्म भलिबल प्रतियोगिता सहितको मेला अायाेजना गरिएको थियाे । मानिसको भिडभाड हुने गरि स्थानीय विद्यालय परिसरमा मेला सञ्चालन गरेकाे भन्दै तीन जनालाई जनही १ हजार रूपैयाँका दरले जरिवाना गरिएकाे हाे ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सरकारकाे निर्देशन अवज्ञा गर्ने क्लबकाे दर्ता निलम्बन गरी दाेषीलाई कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिए । "अाइन्दा यस्तो गल्ती नदाेहाेर्याउने गरि सचेत गराएर छाडेका छाैं," प्रजिअ अधिकारीले भने ।
स्थानीय ताकम माध्यमिक विद्यालयकाे प्राङ्गणमा मेला सञ्चालन गरेकाे तस्बिर, भिडियो र समाचार प्रकाशित भए पछिप्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो ।
