Notification

×

Iklan

Iklan

परराष्ट्र मन्त्री र आपूर्तिमन्त्री किन गए कोरला नाका ?

Wednesday, October 14, 2020 | October 14, 2020 WIB Last Updated 2021-12-30T03:26:13Z

 बेनी 

असोज २९



परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरला नाकाको स्थलगत भ्रमण गरेका छन् । बुधबार हेलिकप्टरमार्फत् उनीहरुले नेपाल–चीन जोड्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका हुन्।



चीनले आफ्नो भूमिमा धमाधम पूर्वाधारको विकास गरिरहेका बेला नेपालतर्फ पूर्वाधार विकासबारे भैरहेको प्रगतिबारे मन्त्रीहरु मुस्ताङ पुगेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार कोरला नाकामा सीमासुरक्षा, पूर्वाधार विकासलगायतका विषयमा मन्त्रीहरुले निरीक्षण गरेका थिए ।


मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मन्त्रीहरुले सीमा नाकाको स्थलगत निरीक्षणका साथै युरेनियम रहेको ठाउँको समेत अनुगमन गरेका थिए । 


नाकाको निरीक्षणपछि उपल्लो मुस्ताङको लोमान्थाङमा आयोजित स्थानीय जनप्रतिनिधि एवं सुरक्षा निकायका प्रमुखहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिमा तीव्रता, नेपालतर्फको भूमिमा पूर्वाधार स्थापना र सीमा नाका खोल्नका लागि जोड दिइने बताएका थिए ।


सोहीक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अन्तर्राष्ट्रिय व्यापारका लागि कोरला नाका खोल्न महत्वपूर्ण हुने भएकाले यसलाई विकास गरी व्यवस्थित रुपमा सञ्चालन गरिने धारणा राखेका थिए ।


सीमानाकाको निरीक्षणमा मन्त्रीहरुसँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेश सरकारका सांसदहरुको उपस्थिति थियो ।




कोरला नाकाको सुरक्षालाई लक्षित गरी सरकारले यसअघि लोमान्थाङ गाउँपालिकाको छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिसकेको छ । 


हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको तर नेपालले यसबारे आधिकारिक धारणा बाहिर नल्याएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरिरहेको छ । यही बेला मन्त्रीहरुले मुस्ताङ भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


×
Berita Terbaru Update