बेनी
कात्तिक ६
म्याग्दीका एक जना शिक्षकले उपचारका लागि आर्थिक सहयोगको अनुरोध गरेका छन् । बेनी नगरपालिका–२ खबरा घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका धनबहादुर पाठकले यस्तो आग्रह गरेका हुन् ।
मृगौला, कलेजो र रगत (आरबिसी)मा समस्या देखिएपछि असोज ३० गतेदेखि अस्पतालको सघन उपचार कक्ष( आइसीयु) मा रहेका पाठकले थप उपचारका लागि आर्थिक सहयोग खोजेका हुन् ।
शिक्षण पेशामार्फत् जीविकोपार्जन गर्दै आएका पाठकको स्वास्थ्यमा समस्या देखिएपछि उनको उपचारका लागि ओमकुमारी शान्ति कोषले ‘धनबहादुर पाठक बचाउ अभियान’ सञ्चालन गरेको छ । कोषका सदस्य कृष्ण जिसीको संयोजकमा आर्थिक सङ्कलन अभियान शुरु गरिएको अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
विगत २२ वर्षदेखि बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पढाउँदै आएका पाठकको उपचारका लागि सोही संस्थामा कार्यरत सहकर्मी शिक्षकहरुबाट ४६ हजार, विद्यालयको ७औ ब्याचका पूर्व विद्यार्थी अर्पण श्रेष्ठको संयोजनमा ५१ हजार, निरन्जन श्रेष्ठमार्फत १८ हजार, मनोज खड्काको संयोजनमा खवराबासीबाट २४ हजार ६०० सय विद्यालयतर्फबाट २० हजार रुपैयाँ सहित अन्य व्यक्तिहरुको सहयोगमा हालसम्म २ लाख ४६ हजार सहयोग प्राप्त भएको अभियानका संयोजक कृष्ण जिसीले जानकारी दिएका छन् ।
कमजोर आर्थिक अवस्था भएका पाठकको उपचारका लागि लामो समय लाग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका सबैलाई आर्थिक सहयोगका लागि अनुरोध गरिएको संयोजक जिसीले बताए । खबरामा घरबाहेक जग्गाजमिन केही नरहेका पाठकले शिक्षणबाट गुजारा चलाउँदै आएका थिए ।
पाठकको उपचारका लागि सहयोग गर्न चाहने सहयोगीले संयोजकको निम्न नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छः ९८४७६४२८१६