बेनी
कात्तिक ५
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दीलाई विपद्ग्रस्त जिल्लाको रुपमा समावेश गर्न संघ सरकारलाई सिफारिस गरिएको बताएका छन् । प्रेस सङ्गठन म्याग्दीद्वारा मङ्गलबार बेनीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले यस्तो जानकारी गराएका हुन् । यसअघि उनी बाढीपहिरोले म्याग्दीका विभिन्न ठाउँमा पु¥याएको क्षतिको अवलोकन गरी बेनी फर्किएका थिए ।
“म्याग्दीलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न प्रदेश सरकारको कात्तिक २ गतेको बैठकले निर्णय गरी संघ सरकारमा पठाएको छ,” मन्त्री गुरुङले भने, “विपद्ग्रस्त जिल्लाको मात्रै होइन प्रदेशभित्रका जोखिम बस्तीहरुलाई कसरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकिन्छ भन्नेबारे गण्डकी सरकारको ध्यान केन्द्रित छ ।” बाढी र पहिरोबाट पीडितको सुरक्षित पुनर्बासका लागि भूगर्भविद्को सझाव र प्राविधिक अध्ययनपछि मात्र ठोस निष्कर्ष निस्कने भन्दै मन्त्री गुरुङले अफवाहको पछि नलाग्न अनुरोध गरे ।
“हामी काममा विश्वास गर्छौं,” मन्त्री गुरुङले भने, “पत्रकार साथीहरु र सचेत नागरिक सबैले तथ्य र तथ्याङ्कमा टेकेर विषयलाई बुझेर सर्वसाधारण नागरिकलाई सहयोग पुग्थ्यो ।”
यस वर्षको बाढी पहिरोबाट क्षति पुगेको धवलागिरी गाउँपालिकाको मराङ, मालिका गाउँपालिकाको बिम, मङ्गला गाउँपालिका र बेनी नगरपालिका–१० पात्लेखेतको पहिरोको स्थलगत अवलोकन गरेका मन्त्री गुरुङले प्राविधिक अध्ययनपछि मात्रै प्रभावित क्षेत्रको विकासबारे बोल्नु उपयुक्त हुने धारणा राखेका थिए ।
उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण र घरवारविहीन नागरिकको आवास पुननिर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाइ थियो ।
एक फरक प्रसङ्गमा बोल्दै मन्त्री गुरुङले कोरोना महामारीबाट अनावश्यक रुपमा नडराउन र सुरक्षित रही आर्थिक क्रियाकलाप अगाडि बढाउन सबैलाई अनुरोध गरे । कोरोना महामारीका बीच पनि राजनीतिक दलहरुलाई पार्टी प्रवेश कार्यक्रम गर्न हतारो भएको भन्ने आलोचना भएपछि मन्त्रीको यस्तो भनाइ आएको हो ।
“प्रतिरोधी क्षमता कम भएका वृद्धवृद्धा, दीर्घरोगीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिएर आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्छ,” उनले भने । महामारी शुरु भएपछि प्रदेश सरकारले स्वास्थ्य प्रणालीमा धेरै सुधार गरेको जानकारी गराउँदै मन्त्री गुरुङले सङ्क्रमितको निशूल्क उपचारका लागि गण्डकी सरकारले यसअघि नै निर्णय गरेको जानकारी गराए ।