बेनी
कात्तिक ८
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीविरुद्ध प्रत्येक व्यक्तिको भूमिका सिपाहीको जस्तै हुनुपर्ने बताएका छन् । शुक्रबार अपराह्न देशबासीका नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
“महामारी विरुद्धको लडाइँमा हामी प्रत्येक सिपाही हौं,” सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, “यस लडाइँमा आफ्नो, परिवारको, समुदायको हुँदै आमनागरिकको सुरक्षाका लागि हाम्रो योगदान सिपाहीको जस्तो हुन आवश्यक छ ।”
एक फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार जनताको उपचारको जिम्मेवारीबाट नभागेको स्पष्टीकरण दिए । “गत चैतमा बन्दाबन्दी शुरु भएसँगै अनेकखाले अफवाह फैलाइएको छ,” प्रधानमन्त्रीले भने, “जनतालाई अनावश्यक रुपमा अत्याउने गरी, भयभीत र असहाय बनाउने गरी अफवाह फैलाइएको छ । सरकारले सङ्क्रमितको पहिचान, परीक्षण र उपचारमा समान व्यवस्था हुने गरी व्यवस्था गरेको छ ।”
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारका क्रियाकलापमा उठेका विभिन्न सवालमा स्पष्टीकरण दिने प्रयास गरेका थिए ।
कोरोनाको सङ्क्रमण बढ्दै जाँदा सरकार जिम्मेवारीबाट पन्छिएर रमिते बन्न खोजेको भन्ने आरोप लागेपछि प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।