बेनी
कात्तिक २
कोभिड–१९ को सङ्क्रमण बढ्दै गर्दा सरकारले अनेक किसिमका निर्णय र निर्देशन दिन थालेको छ । पछिल्लो निर्णय अनुसार सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले अबदेखि अनिवार्य रुपमा फेस सिल्ड लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताए ।
![]() |
| प्रतीकात्मक तस्बिर |
यात्रुले सवारी चढ्नुपहिले नै फेस सिल्ड लगाउनुपर्ने र यसको व्यवस्था आफैले गर्नुपर्ने पनि यातायात व्यवस्था विभागको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सार्वजनिक यातायात चढ्दा मास्कको मात्र प्रयोग गर्ने भनिएकोमा अबदेखि मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको हो ।
यसैबीच विभागले सबै सिटमा यात्रु बोक्न पाइने नयाँ नियम लागू भएकाले तोकिएको मात्रै भाडा तिर्न यात्रुहरुलाई अनुरोध गरेको छ । आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडामा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सरकारले यसअघि व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको हो ।

