बेनी
कात्तिक ५
म्याग्दी र पर्वतको साँध ठूलोपहिरोमा बाँध राख्ने गरी निर्माण गर्न लागिएको बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध यथास्थितिमा रहने गरी सहमति नदिन म्याग्दीका सरोकारवालाहरुले माग गरेका छन् । विद्युत् विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको उक्त आयोजनाको प्रस्तावित बाँध बाँध्ने ठाउँ परिवर्तन नभएसम्म निर्माणको अनुमति नदिन बेनी नगरपालिकालाई सुझाव दिइएको हो ।
आयोजना निर्माणका लागि भन्दै विद्युत विकास विभागले बेनी नगरपालिकासँग सहमति मागेको थियो । विभागको पत्रमाथि छलफल गर्न बेनी नगरपालिकाले मङ्गलबार सरोकारवाला सहभागी एक भेलाको आयोजना गरेपछि यस्तो सुझाव दिइएको हो ।
बेनी नगरपालिकाका सूचना अधिकृत युवराज थापाले भेलाले आयोजनाको बाँध राहुघाट जलविद्युत आयोजनाको पानी निस्कने ठाउँ (आउटलेट) भन्दा माथिपट्टि राख्ने गरी डिजाइन परिवर्तन नभएसम्म नगरपालिकाले सहमति दिन नहुने धारणा आएको जानकारी दिए । “प्रस्तावित आयोजनाको बाँध राहुघाट जलविद्युत्को आउटलेट भन्दा माथि राख्ने, कालीगण्डकीको पानी २० प्रतिशत र रघुगङ्गा नदीको शतप्रतिशत पानीलाई छोडेर मात्र विद्युत उत्पादन गर्ने शर्तमा सहमति दिन सुझाव आएको छ,” सूचना अधिकारी थापाले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सरोकारवालाहरुको भेलाले दिएको सुझावलाई नगर कार्यपालिकाको बैठकमा राखिने र बैठकको निर्णयलाई आधार मानेर विभागलाई पत्राचार गरिने जानकारी दिए ।
भेलामा बोल्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले प्रस्तावित बाँधले कालीगण्डकी नदीको सौन्दर्य नासिने र तटीय क्षेत्रको बस्तीमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले डिजाइन फेर्नुपर्ने विचार व्यक्त गरे । “बेनी बजारक्षेत्रको सम्भ्यता, जनजीवन प्रभावित पार्ने र सदरमुकामको सौन्दर्यमा क्षति पुग्ने गरी जलविद्युत आयोजना बनाउनु राम्रो कुरा होइन,” सांसद थापाले भने, “सरोकारवालाको भेलाले दिएको विकल्पसहितको सुझावलाई कार्यान्वयन गराउन मेरो तर्फबाट विभागमा आवाज उठाउनेछु ।”
कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष विरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठलगायत सरोकारवाला र जनप्रतिनिधिहरुले स्थानीयको चाहना र भावना अनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेपछि मात्र आयोजनालाई सहमति दिनुपर्नेमा जोड दिएका छन्।
भेलामा संस्थागत धारणा राख्दै नगरप्रमुख हरिकुमार श्रेष्ठले निर्माणको सहमति माग्दै विभागले यसअघि पनि पत्र पठाएको जानकारी गराए । “नगरपालिकाले तिल्केनीचौरमै बाँध बाँध्ने विकल्प सुझाएको थियो,” नगरप्रमुख श्रेष्ठले भने, “आजको भेलाले दिएको सुझावलाई समेटेर विभागलाई पत्राचार गर्छौं ।
नगरउपप्रमुख सञ्जु बरुवालको स्वागत र सूचना अधिकारी युवराज थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।