Notification

×

Iklan

Iklan

बजारमा तीनओटा पुस्तक

Friday, October 9, 2020 | October 09, 2020 WIB Last Updated 2021-12-30T03:26:18Z

 बेनी

असोज २४


साहित्य

यो साता नेपाली साहित्यिक बजारमा फरक विधाका तीनओटा कृतिहरु आएका छन् । राजनीतिक विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’, विजयकुमारको ‘सम्बन्धहरु’ र केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएका हुन् । 


संग्रौलाले भिडियो मन्तव्यसहित पुस्तक सार्वजनिक गरेका छन् । अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वप्रसिद्ध आठ चिन्तकका ११ थान दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन् ।



विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरू पुस्तकमा संकलित छन् ।


पुस्तकबारे संग्रौला भन्छन्, ‘आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो । त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि सबै विद्वान्हरूले समाजवादको मुखररूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो । र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो ।’


अर्का लेखक विजय कुमारले पनि ‘सम्बन्धहरू’ सार्वजनिक गरेका छन् । बिहीवारदेखि नेपालमा रहेका पाठकका लागि उपलब्ध पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो।



जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । ‘खुसी’का लागि मदन पुरस्कारप्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना मानिन्छ ।

त्यसैगरी लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ पनि सार्वजनिक भएको छ । किताबमा खासगरी मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा समेटिएको छ।


लेखक दाहालका अनुसार गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा समेटिएको छ ।



दाहाल भन्छन्, “यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो।”

खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दश हजार दासहरूलाई मुक्त गरेपछि कर्णालीको सिन्जामा उथलपुथल आउँछ । त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ । बहससँगै सुरु हुन्छ– मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । ’मोक्षभूमि’ मा त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन गरिएको लेखकको भनाइ छ ।


×
Berita Terbaru Update