बेनी
कात्तिक २
कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको मङ्गला गाउँपालिकाको कार्यालयबाट हुने कामकारवाही बन्द भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा पुष्टि गरेका हुन् ।
![]() |
फाइल तस्बिर |
“यस कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि,” विज्ञप्तिमा भनिएको छ, “थप सङ्क्रमणको उच्च जोखिम रोक्न कार्यालयका अत्यावश्यक र आन्तरिक बाहेकका अन्य कामहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको छ।”
सङ्क्रमित कर्मचारी अहिले सदरमुकाम बेनीको आइसोलेसन केन्द्रमा रहेको र उनीसँग सम्पर्कमा रहेका कर्मचारीलाई ‘कन्ट्र्याक्ट ट्रेसिङ’का लागि ‘होम आइसोलेसन’मा राखिएको पनि अधिकृत ढुङ्गानाले उल्लेख गरेका छन् ।
गाउँपालिकाको विज्ञप्तिमा कर्मचारी कुन ओहदा र कहाँका हुन् भन्नेबारे थप केही खुलाइएको छैन ।
गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिएको र यसले गर्दा गाउँघरमा भिडभाड बढ्न सक्ने हुँदा सबैलाई सतर्क रहन अनुरोध गरिएको बताइन् ।