बेनी
मङ्सिर १५
म्याग्दीमा थप ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङमा परेका र शङ्कास्पद विरामी गरी २७ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।
थपिएका सङ्क्रमितहरु अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका छन् ।
सङ्क्रमित हुनेमा तनहुँ स्थायी ठेगाना भई हाल अन्नपूर्ण– २ बस्ने ४९ वर्षका एक जना पुरुष, अन्नपूर्ण–३ ठेगाना भएका ५४ र ४५ वर्षका एक एक जना महिला र पुरुष, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ का एक जना महिला, अन्नपूर्ण–२, ३ र ८ वडा ठेगाना भएका वर्ष ५०, २७ र ३७ का ३ जना पुरूष रहेका छन् ।
त्यसैगरी बैतडी जिल्ला ठेगाना भई हाल रघुगङ्गा गाउँपालिका बस्ने वर्ष २६ का एक पुरूष, गुल्मी र रूपन्देही घर भई हाल बेनी बस्ने वर्ष ३३ र ३४ का एक एक जना महिला र पुरूष, बेनी नगरपालिका– १० ठेगाना भएका १ जना पुरूष गरी जम्मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसैबीच मोरङ ठेगाना भई हाल निलगिरी जलविद्युत् आयोजनामा कार्यरत २९ वर्षीय एक जना पुरूषमा पनि सङ्क्रमण पुष्टि भएको छ । कामविशेषले पोखरा पुगेका उनले पिसिआर परीक्षणका लागि आफैले नमुना सङ्कलन गराएको बताइएको छ ।
योसँगै म्याग्दी जिल्लामा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । यसमध्ये अहिले सकृय सङ्क्रमितको संख्या १७ रहेको पनि जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

