बेनी
मङ्सिर ११
बेनी नगरपालिकाभित्र रहेका विद्यालयहरु मङ्सिर १४ गतेदेखि सञ्चालन हुने भएका छन् । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय भेलाले आइतबारदेखि सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफलमा संविधान सभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा, प्रमुख प्रशासकीय अधिृकत छविलाल सुवेदी, नगर कार्यपालिका सदस्य, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको सहभागिता रहेको थियो ।
उक्त छलफलमा जनस्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर आगामी आइतबारदेखि विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।
विद्यालय सञ्चालन गर्दा व्यवस्थापन समिति, शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने, विद्यालय परिसरको सरसफाई र भौतिक दुरी कायम गर्न ध्यान दिनुपर्ने, साबुन, पानी, स्यानिटाइजर र मास्कलगायतका सामग्रीको नियमितरुपमा व्यवस्था गर्नुपर्ने शर्त राखिएको प्रवक्ता बराईलीले बताए।
फाइल तस्विर |
विद्यालय सञ्चालनको क्रममा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएमा चेकजाँचको व्यवस्था मिलाउने, थप समस्या आएमा स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, विद्यार्थीहरुमा सङ्क्रमण फैलनबाट रोक्न मापदण्ड पालनमा शिक्षक र अभिभावक सचेत रहनुपर्ने निर्णय पनि छलफलमा गरिएको छ ।
बिहीबारको सर्वपक्षीय छलफलमा मङ्सिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भयो । तर, सदरमुकाम बेनीका धेरैजसो नीजि विद्यालयहरु गत आइतबारदेखि नै सञ्चालनमा आएका छन् । कतिपय विद्यालयले बिहान ८ बजे र मध्याह्न १२ बजे गरी दुई सिफ्टमा विद्यालय सञ्चालन गरिरहेका छन् । तर, सरकारी विद्यालयहरुले भने डिसिसिएमसी वा नगरपालिकाको निर्णय कुरेका कारण विद्यालय सञ्चालन गरेका छैनन् ।