बेनी
कात्तिक २२
कोरोना भाइरस महामारी नियन्त्रणका लागि खोपबाहेक विकल्प नरहेको अध्ययनहरूले बताउँदै आएका छन् । खोप बनाउन विभिन्न देशहरू लागिपरेका छन् ।
![]() |
प्रतीकात्मक तस्विर |
रूसले कोरोना खोप बनाएको दाबी गरे पनि विश्वव्यापी चिकित्सा विशेषज्ञहरूले यसलाई पूर्ण रूपमा स्वीकारेका छैनन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचर्ड पेटोले समेत कोरोना भाइरस खोप बनाउने दौडमा कमजोर खोप बनाए ठीक नहुने चेतावनी दिएका थिए ।
यसरी बनाएको खोपले भाइरसको प्रतिरोधात्मक क्षमता नघटाउने तर परिणामस्वरूप सङ्क्रमण जोखिम बढाउन सक्ने उनको भनाइ हो । उनका अनुसार प्रभावकारी खोप भने तयार हुन आवश्यक छ ।
यसै विषयमा बजार अनुसन्धाता कम्पनी ’इप्सोस मोरी’ले कुन–कुन देशका नागरिक कोरोना भाइरस खोपको प्रतीक्षामा छन् भन्ने जान्न एक सर्वेक्षण गरेको छ ।
सर्वेक्षण अनुसार चीनमा ९७ प्रतिशत मानिसहरू खोप कहिले तयार होला भन्नेमा उत्सुक छन् । ब्राजिलमा ८८ प्रतिशत मानिस उत्सुक छन् भने भारतमा ८७ प्रतिशत मानिस कोरोना खोपको प्रतीक्षामा छन् ।
रुसले कोरोना भाइरस विरुद्ध खोप ’स्पुतनिक–भी’ आविष्कार गरेको भन्ने भए पनि यहाँको जम्मा ५४ प्रतिशत मानिस खोपका लागि उत्सुक देखिन्छन् । त्यस्तै फ्रान्समा ५९ प्रतिशत जनसंख्या खोप लगाउन आतुर छन् ।
महामारी नियन्त्रणका लागि आवश्यक खोपको परीक्षण विभिन्न देशमा भइरहँदा संसारका अधिकांश मान्छेको प्रतीक्षा भने यी खोपमा भएका विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१. अक्सफोर्ड–एस्ट्राजेनका खोप
अक्सफोर्ड विश्वविद्यालय र फार्मा कम्पनी एस्ट्राजेनकाले संयुक्त रूपमा कोरोना भाइरसविरुद्ध खोप बनाउँदै छ । विभिन्न देशमा यो खोपको परीक्षण तेस्रो चरणमा हुँदैछ ।
२. चीनबाट निर्मित खोप
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चीनबाट बनिरहेको कोरोना भाइरस खोप तेस्रो चरणको परीक्षणमा छ । यसमा सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी समावेश छन् ।
३. रुसको स्पुतनिक खोप
रुसबाट तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ ।
मस्कोको गाम्ल्याया अनुसन्धान संस्थानका प्रमुख अलेक्ज्याण्डर गिटन्बर्गका अनुसार यो खोप सुरक्षित रहेको छ भन्नका लागि पर्याप्त उदाहरण छन्। उनले यो पनि रोग प्रतिरोध क्षमता बढाउन यसको अतिरिक्त डोजको आवश्यक पर्नसक्ने बताएका छन् ।
४. कोभ्याक्सिन
भारतीय बायोटेक, आइसीएमआर र नेशनल इन्टिच्युट अफ भाइरोलोजीले संयुक्त रुपमा खोप निर्माण गर्दैछ। र, उनीहरूले बनाइरहेको यो खोपमा पनि विकास देखिरहेको छ ।
५. नोभाभ्याक्स
अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ ।
यी खोपबाहेक जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ ।
(भारतीय सञ्चारमाध्यम जागरणको सहयोगमा)