बेनी
कात्तिक २५
कात्तिक १५ गतेदेखि बन्द गरिएको बेनी नगरक्षेत्रको सेवाप्रवाह भोलिदेखि पुनः शुरु हुने भएको छ । मङ्गलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, म्याग्दीले यस्तो जानकारी गराएको हो । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै बेनी नगरपालिका क्षेत्रमा अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।
बेनी नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले कोरोनाका लक्षणसहितका विरामी नपाइएपछि नगरको काम शुरु गर्ने निर्णय भएको जानकारी दिए ।
अधिकृत सुवेदीका अनुसार ‘कम्युनिटी टेस्ट स्क्रिनिङ’ अभियान मार्फत् जनताको घरदैलोमा पुगिएको र यसक्रममा समुदाय स्तरमा तत्काल कोेरोनाकोे जोखिम नभएको पाइएपछि बुधबारदेखि सेवा शुरु गर्ने निर्णय हो ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको सूचना अनुसार ‘बन्दका बीचमा स्वास्थ्यकर्मी सहितको टोलीले बजारका ५८१ घरधुरीका ३९१० जनासँग स्वास्थ्य अवस्था, जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको र मापदण्ड पालना गर्न अनुरोध गरिएको उल्लेख छ ।
‘सो अभियानका क्रममा कोरोनाका लक्षण भेटिएका १३ जनाको स्वाब सङ्कलन गरिएको र उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको’ सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कुँवरले नगरपालिकाको सिफारिसका आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले २५ गते राति १२ बजेदेखि नै स्थगित सेवा तथा पसलहरु खुला गर्ने निर्णय गरेको जानकारी दिएकी छिन् ।
यसैबीच नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएको र त्यसक्रममा देउसीभैलो खेल्ने, आतसबाजी गर्ने, भिडभाड गर्ने जस्ता काम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
ँहोटल व्यवसायी संघ, म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य बाबुरामले यातायात क्षेत्र खुलै छाडेर बाँकी बन्द गर्नु औचित्यहीन नदेखिएकोमा मङ्गलबारको निर्णय सही भएको प्रतिक्रिया दिए ।
हचुवाको निर्णय !
बेनी नगरक्षेत्रको सेवा प्रवाह बन्द र खुला गर्नुमा सम्बन्धित कार्यालयहरुले पर्याप्त आधार दिन नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ ।
बन्द गर्नुको औचित्य, बन्दको अवधिमा भएका क्रियाकलाप र सेवा खुला गर्ने निर्णय लिइनुका पछाडि नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघले स्पष्ट पार्न नसकेको भन्दै आलोचना भएको हो ।


