बेनी
मङ्सिर ३०
म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उपसभापति इश्वर सुवेदीको लापरवाहीका कारण एक विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो वर्षमा अध्ययतरत मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् ।
आफ्नो कार्य व्यस्तताका कारण क्याम्पसमा आउन नसकेपछि विद्यार्थी नेता सुवेदीसँगको कुराकानीका आधारमा फोटो प्रिन्टकाे शुल्कसहित क्याम्पसको भर्ना, मासिक र परीक्षा शुल्कसमेत गरि २२ हजार ५ सय रुपैयाँ सुवेदीको खातामा जम्मा गरेको तर सुवेदीले लापरबाही गरेको कारण परिक्षा दिनबाट आफु बञ्चित भएको आचार्यले गुनासो गरे ।
दरबाङस्थित एक वित्तीय संस्थामा कार्यरत रहेको कारण क्याम्पसमा आफु आउन नसक्ने र तत्कालीन स्ववियूका कार्यवाहक सभापति समेत रहेका सुवेदीसँग चिनजान भएकाले विश्वास गरि परीक्षा फर्मसमेत भरिदिने वचन पाएपछि आफु आबद्ध रहेको संस्थाको सहकर्मी मार्फत सुवेदीको गरिमा विकास बैँकमा रहेको खातामा पैसा जम्मा गरिदिएको आचार्यको भनाई छ ।
‘‘२०७६ पौस १ गते सुवेदीको खातामा पैसा जम्मा गरिदिएको थिए, त्यसपछि पटक पटक सम्पर्क गरि फर्म भरे/नभरेको बारेमा जानकारी लिँदा उहाँले भर्ना र परिक्षा शुल्क तिरेर फर्म भरिदिएको भनि फोन र म्यासेजबाट विश्वस्त पार्नुभयोे, त्यसपछि म ढुक्क भएँ तर मंसिर २८ गते प्रवेश पत्रका लागि क्याम्पसमा सम्पर्क गर्दा आफ्नो फर्म नै नभरिएको पाएपछि छाँगाबाट खसेजस्तो भएँ’’, आचार्यले भने ।
स्ववियूका जिम्मेवार नेतालाई विश्वास गर्दा आफु पीडित बन्नुपरेको बताउँदै आचार्यले अन्य विद्यार्थीहरुलाई यस्ता प्रवृतिबाट जोगिन आग्रह गरे ।
पीडित आचार्यकाे गुनासोबारे थप बुझ्ने प्रयास गर्दा सुवेदीसँग सम्पर्क हुन सकेन ।
