बेनी
पुस १०
संसद विघटन भएसँगै देशको माहौल एकाएक फेरिएको छ । संसद विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई चिरा परेको छ । यतिमात्र होइन, नयाँ परिरिस्थितिमा सडक आन्दोलनको मौसम शुरु भएका पर्याप्त सङ्केत देखिएका छन् । संसद विघटन, नेकपाको विभाजन र सडक तात्ने परिस्थितिलाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता बढाइएको छ ।
![]() |
फाइल तस्वीर |
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधव नेपाल पक्षबीच कार्यकर्ता भित्र्याउने होडबाजी शुरु भएको छ । यसले गर्दा विवाद केन्द्रदेखि जिल्ला हुँदै गाउँ तहसम्म पुग्ने निश्चित छ । यस्तो अवस्थामा सुरक्षा जोखिम बढ्ने आँकलन गरी सुरक्षा सतर्कता बढाइएको हो । पार्टी कार्यालय कब्जादेखि आफ्नो पक्षमा प्रदर्शन, नाराबाजी जस्ता क्रियाकलापले सुरक्षामा चुनौती थपिएको छ । दाहाल–नेपाल पक्ष शुक्रबार बिहान राजधानीको माइतीघरबाट सडक आन्दोलन शुरु गरेको छ । यस्तो अवस्थामा पक्ष विपक्षबीच सम्भावित भिडन्तको आँकलन गरी सुरक्षा निकायलाई सचेत रहनुपर्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई समेत खटाइएको छ ।
यसैबीच गृह मन्त्रालयले देशका सबै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुरक्षा व्यवस्था मिलाउन र जिल्ला नछोड्न समेत निर्देशन दिएको बुझिएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालले पनि सबै जिल्लामा पत्राचार गरेर प्रहरीलाई ‘हाइ अर्लट’मा रहन निर्देशन दिइसकेको छ । तर, प्रदर्शनमा मात्र होइन अन्य समयमा पनि नेतामाथि सुरक्षा चुनौती रहेकाले थप सुरक्षा प्रबन्ध मिलाइएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार पछिल्लो परिस्थितिमा नेतामाथि सुरक्षा चुनौती थपिएकोले उच्च तहका नेता बस्ने घर तथा होटेलमा निगरानी बढाइएको र स्थानीय तहमा प्रहरी परिचालन गरिएको छ ।
अहिलेको परिस्थितिमा नेत्रविक्रम चन्द नेतृत्वको समूहको घुसपैठ हुनसक्ने आशङ्कामा सूचना सङ्कलन तथा निगरानी बढाइएको स्रोतको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने, “सुरक्षा चुनौतिलाई ध्यानमा दिएर सुरक्षा व्यवस्था मिलाएका छौं । त्यसको लागि आवश्यक सूचना सङ्कलनदेखि अन्य अप्रेसनहरु भइरहेको छ ।”